पीडित र पत्रकारको प्रयासमा प्रहरीले समात्यो घूससहित सव इञ्जिनियर

शहरी विकास तथा भवन कार्यालय पर्साका सव इञ्जिनियर रुपेशकुमार दुवे घूस रकमसहित पक्राउ परेका छन् । उनलाई सेवाग्राही र पर्साका संचारकर्मीको प्रयासमा पक्राउ गरिएको हो ।

उनलाई पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालको निर्देशनपछि प्रहरीले एक लाख ७० हजार रुपैयाँ नगद सहित नियन्त्रणमा लिएको हो ।

प्रहरीलाई घूस रकम सहित नियन्त्रणमा लिने अधिकार छैन् । तर प्रमुख जिल्ला अधिकारीले जिल्लामा आफु मातहत रहेका कार्यालय र कर्मचारीहरुको नियमन र अनुगमनको अधिकार राख्दछन् ।

वीरगञ्ज महानगरपालिका–१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

सव डिभिजन वन कार्यालय वसन्तपुर र सव डिभिजन वन कार्यालय मनवामा १७ लाख रुपैयाँको लागतमा निर्माण भएको तीन÷तीन कोठे भवनको मूल्याङ्कन गरी दिने बहानामा ठेकेदारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक विशाल मल्लले बताए ।

पक्राउ परेका दुवेलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ । मुल्याङ्कनको १० प्रतिशत रकम दिएपछि मात्र काम गर्ने भन्दै आएका दुवेलाई स्थानीय प्रशासनको सहयोगमा पक्राउ गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर