सिभिल र हिमालयन बैंकबीच मर्जरको प्रारम्भिक सम्झौता

हिमालयन बैंक लिमिटेड र सिभिल बैंक लिमिटेडबीच मर्जरको प्रारम्भिक सम्झौता भएको छ ।बुधबार हिमालयन बैंकले सिभिल बैंकले प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने गरी गत शुक्रबार प्रारम्भिक सम्झौता गर्ने तय गरेको भए पनि अन्तिम समयमा विवाद हुँदा स्थगित भएको थियो ।

तर, लगातारको छलफलपछि सिभिल र हिमालयन बैंकले मर्जरमा सहमित जुटाएर आज सम्झौता गरेका छन् ।

सम्झौतामा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।

सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । अर्थात् हिमालयन बैंकले १००ः८१ को सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) मा सिभिल बैंकलाई प्राप्ति गर्न लागेको हो । मर्जरपछि बैंकको नाम हिमालयन नै रहने र सञ्चालक समितिमा पनि अहिलेको हिमालयन बैंकको नै रहनेछ ।

सीईओमा हिमालयन बैंकको अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकको सुनिल कुमार पोख्रेल रहने सहमति भएको छ ।

सिभिल बैंकका कर्मचारीलाई सम्मानजनक समायोजन गर्ने सहमति हिमालयन बैंकले जनाएको सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले बताए ।

हाल हिमालयन बैंकको चुक्ता पूँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार ७२५ रुपैयाँ छ भने सिभिल बैंकको ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९० रुपैयाँ रहेको छ ।

२०७८ वैशाखमा नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरमा जाने प्रारम्भिक सहमति भए पनि स्वाप रेसियो लगायका विषयमा विवाद भएपछि उक्त मर्जर असफल भएको थियो । १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक सहमति गरेको भए पनि हिमालयन बैंकको साधारणसभाले उक्त स्वाप रेसियोमा मर्जरमा जान नसकिने भन्दै मर्जर प्रस्ताव अस्वीकृत गरेपछि सम्झौता भएको ९ महिनापछि मर्जर तोडिएको थियो ।

उक्त मर्जर प्रक्रिया असफल भएपछि नेपाल इन्भेष्टमेन्ट बैंंकले मेगा बैंकसँग प्रारम्भिक सम्झौता गरिसकेको छ । हिमालयन बैंकले पनि सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौता गर्न तयारी सुरुमा बिथोलिए पनि एक हप्ता नबित्दै सहमति जुटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर