आलोपालो प्रधानमन्त्री बारे छलफल हुने प्रचण्डको भनाई

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनभित्र आलोपालो प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका छन् ।
कान्तिपुर दैनिकमा सोमबार प्रकाशित अन्तर्वार्तामा प्रचण्डले यस विषयमा छलफल हुने विश्वास्त रहेको बताए ।

‘अहिले त्यसबारे (आलोपालो प्रधानमन्त्री) चर्चा गरिएको छैन। तर, यो विषयमा पनि एउटा बिन्दुमा पक्कै छलफल हुन्छ भन्ने मलाई विश्वास छ,’ प्रचण्डले भनेका छन्।

भारत भ्रमणको क्रममा लिएको अन्तर्वार्तामा प्रचण्डले प्रधानमन्त्री आलोपालो विषयमा शेरबहादुर देउवा पनि लचिलो रहेको दावी गरे । उनले यस विषषमा खासै ठूलो समस्या नरहेको दावी गरेका छन् ।

‘यस विषयमा ठोस या मूर्त रूपमा चर्चा गरेका छैनौं। तर मैले बुझेको चाहिँ प्रधानमन्त्री देउवाजी यस विषयमा लचिलो हुनुहुन्छ। सकारात्मक हुनुहुन्छ’ प्रचण्डले भने ‘पावर सेयरिङको विषयमा उहाँले मिलेरै जाने हो, मिलेरै गर्ने हो भन्नुहुन्छ। तर हामी ठोस रूपमा प्रवेश गरेका छैनौं। यसमा खासै ठूलो समस्या रहेको छैन ।’

प्रचण्डले प्रधानमन्त्री बन्नका लागि आफूलाई गठबन्धन बाहिरबाट पनि प्रस्ताव आएको खुलाएका छन् । ‘मैले प्रधानमन्त्री नै चाहने हो भने त अहिले नै अफरहरू पनि प्राप्त छन् ठाउँठाउँबाट’ प्रचण्डले भने ‘तर, म प्रधानमन्त्री हुनु मुख्य कुरा होइन, संविधान लोकतन्त्रको रक्षा, निर्वाचन सम्पन्न गर्ने र नेपाली जनताको विकासको चाहना, छिमेकी र विदेशी राष्ट्रसँग राम्रो सम्बन्ध बनाउने कुरा मुख्य हो भने मलाई लागेको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *