शेरबहादुर देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैंसीझैँ पाल्नुपरेको छः एमाले सांसद धामी

नेकपा (एमाले) का सांसद नरबहादुर धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैंसी पालेझैँ पाल्नुपरेको टिप्पणी गरेका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद धामीले सुदूपश्चिमका जनताले प्रधानमन्त्री देउवालाई ६ पटक चुनाव जिताएर पाँच पटक प्रधानमन्त्री बनाए पनि सुदूरपश्चिमका लागि केही नगरेको आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्रीलाई ३१ वर्षदेखि जनताले भोट दिए पनि भोट बालुवामा पानी हाले बराबर भएको बताए । सांसद धामीले प्रधानमन्त्रीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गरेमा सुदूरपश्चिमका जनताप्रति गद्दारी र विश्वासघात गरेको ठहरिने बताए ।

उनले गेटामा विश्वविद्यालय बनाउनका लागि मन्त्रीपरिषद्बाट निर्णय गराउन नसकेको भन्दै प्रधानमन्त्री देउवाको चर्को आलोचना गरे ।

‘प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गर्ने हो, आनाकानी गर्ने हो र कुनै मतलब नराख्ने हो भने देखादेखि तपाईंले सुदूरपश्चिमप्रति गद्दारी गरेको र त्यहाँको जनताप्रति गम्भीर विश्वासघात गरेको ठहर हुनेछ,’ उनले भने, ‘प्रधानमन्त्रीको ज्योतिषीले उहाँलाई सात पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका छन् । तर, सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि अनवरत रूपमा ६ पटक चुनाव जिताएर उहाँलाई पाँच पटक नेपालको प्रधानमन्त्री बनाइसकेका छन् ।’

पाँच पटक प्रधानमन्त्री हुँदा पनि देउवमले सुदूरपश्चिमका जनताको जीवनमा दूरगामी प्रभाव पार्ने, युगान्तकारी र अविष्मरणीय योगदानहरू केही नगरेको बताए ।

‘कृषि, पर्यटन, उद्योग, शिक्षा लगायतका क्षेत्रमा सुदूरपश्चिमका लागि तपाईले गरेका चिरस्थायी कामहरु के–के हुन् ? सुदूपश्चिमका जनता जान्न चाहन्छन् प्रधानमन्त्रीज्यू कुनै जवाफ छ ? खालि थारो भैंसी पालेझैँ ३१ वर्षदेखि सुदूरपश्चिमका जनताले तपाईलाई निरन्तर भोट दिएर बालुवामा पानी हालेका हुन् ?,’ धामीले भने ।

सांसद धामीले कैलालीमा गेटा मेडिकल कलेजको स्थापना गर्न नसके प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा जन्म लिनु नै धिक्कार हुने टिप्पणी गरे । कलेज स्थापना गर्न नसके देउवा दश पटक प्रधानमन्त्री भए पनि जनतालाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैँ हुने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर