झापाको अर्जुनधारा हत्याकाण्डको सफल अनुसन्धान गर्ने डीएसपी कुँवर बने प्रदेशकै ‘सुपर बेस्ट पुलिस’

झापाको अर्जुुनधारा हत्याकाण्डको सफल अनुसन्धान गर्ने डीएसपी रुगमबहादुर कुँवर प्रदेशकै ‘सुपर बेस्ट पुलिस’ बनेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत डीएसपी कुवँरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

झापाको अर्जुनधारा नगरपालिका–४ जुकेखाडी साहसी टोलस्थित कच्ची सडकखण्डको ह्वुमपाइपभित्र अज्ञात व्यक्तिले कर्तव्य गरी मारेर बोरामा प्याक गरी फालेको अवस्थामा तत्काल पहिचान नखुलेको मृतक पुरुषको लाशको सुक्ष्म रूपमा अनुसन्धान गरी उक्त लाशको पहिचान खुलाउन सफल हुनुका साथै घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह  गरेकाले कुवँरलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कुवँरले लागुऔषध, चोरीलगायतका विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुनेगरी नागरिकसमक्ष प्रहरीको छवि उच्च बनाउनमा प्रशंसनीय कार्य गरेको जनाइएको छ । तिनै कार्यको सम्मानस्वरूप कुवँर सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउन सम्पादित कार्यको उचित मूल्यांकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरिका प्रहरी कर्मचारीहरूमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरीअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरूमा एक महिनासम्म राखिँदै आइएको छ ।

के हो अर्जुनधारा हत्यकाण्ड ?

गत असार १२ गते साँझ भारतीय नागरिक जापाडिया नरेशकुमार बाबु भाइको कर्तव्य गरी हत्या भयो । निकै रहस्मय बनेको हत्याकाण्डको प्रहरीले सूक्ष्म अनुसन्धान गरी घटनाको ठीक एक हप्तापछि असार १९ गते हत्या आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्‍यो ।

पक्राउ पर्नेहरूमा थिए– अर्जुनधारा नगरपालिका–७ निवासी ३२ वर्षीय जानुका सुवेदी थापा, ४९ वर्षीय बृखबहादुर थापा र सुनसरी बराहक्षेत्र नगरपालिका–१० निवासी २५ वर्षीय सुरेश परियार ।

इलाका प्रहरी कार्यालय अनारमनीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख विश्वमणि पोखरेलले थापाको घरमा जयन्तीलाल नि चली भर्गब रोड कुँवेर नगर अहमावाद सिटी निवासी ४० वर्षीय नरेशकुमार बाबुको हत्या गरेको बताए ।

कामको सिलसिलामा वि.सं. २०७६ मंसिरमा भारत पुगेकी जानुकासँग उनको चिनजान भएको र चिनजानपश्चात् नेपाल आउने गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

२०७९ वैशाख ४ गते नेपाल आउने क्रममा नरेशकुमारका बाबुलाई इलाका प्रहरी कार्यालय रानीले ५९ हजार अवैध भारतीय रुपैयाँसहित पक्राउ गरेको थियो । पक्राउपछि उनी आन्तरिक राजस्व कार्यालयबाट धरौटीमा छुटेको र तारेकमा रहेको बताइएको छ । सोही क्रममा उनी तारेक बुझाउन नेपाल आएको र जानुकाको घरमा तीन दिनदेखि बसेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

जानुकाको घरमा रहँदा जानुकालाई श्रीमानकै अगाडि दुर्व्यहार गरेको भन्दै श्रीमान् श्रीमतीकै योजनामा उनलाई मादक पदार्थ सेवन गराउँदै तीन लाख रुपैयाँ दिएर परियारको सहयोगमा उनको हत्या गरेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । हत्यापछि नरेशकुमारको शव अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी–साहसी टोलको भित्री कच्ची सडक खण्डको ह्युमपाइपभित्र बोरामा बाँधेर फालेको अवस्थामा फेला परेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नरेशकुमारको हत्याका लागि सुरुमा परियारलाई रु. २५ हजार दिएको, उनको हत्यासँगै शव फालेपछि पुनः रु. एक लाख ७५ हजार दिएको र अर्का एक जना मानिसलाई पनि रु. एक लाख दिइएको थियो । अर्का व्यक्तिको भने प्रहरीले परिचय खुलाएको छैन ।

नरेशकुमारको हत्या गर्न थापा दम्पत्तिले रु. पाँच लाख खर्च गर्ने सहमति भएको र सोही सहमतिअनुसार उनीहरूले रु. तीन लाख प्रदान गरेको बताइएको छ । बाँकी रु दुई लाखपछि दिने सहमति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर