सात वर्ष जेल सजायबाट रिहा भएकाे *दुई महिना नपुग्दै अर्काे हत्या, सवा घण्टाभित्रै परे प्रहरीकाे फेला

बिहीबार अपराह्न ४ः४५ बजेको थियो । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँबाट एकहरिया जाने पिच सडकभन्दा पूर्वपट्टि रहेको बाबुुसाहेब झाको आँपको बगैँचामा स्थानीय ६० वर्षीय रामबहादुर दासको अनुहार र टाउकोमुनिको भागमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव रहेको भनी इलाका प्रहरी कार्यालय सहोडवालाई खबर प्राप्त भयो ।

लगत्तै सहोडवा चाँदनी चोकदेखि खटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय सहोडवाको संयुक्त प्रहरी टोलीले घटनास्थल पुगेर नजिकै खेतमा खनेको कुलोमा रगतको छिटा लागेको कोदालो बरामद गर्‍यो । घटनाको अनुसन्धानका क्रममा सो कोदालो दिउँसोको समयमा रामनाथले आफ्नै घरबाट बोकी खेततर्फ गएको भनेर रामनाथकी श्रीमतीले प्रहरीलाई बताइन् ।

थप अनुसन्धानका क्रममा रामनाथले आफ्नो काका रामबहादुर आँपको बगैँचामा सुतिरहेको अवस्थामा आफूले बोकेको कोदालोको धारिलो भागले काका रामबहादुरको अनुहारदेखि कञ्चटसम्म यत्रतत्र प्रहार गरेको र रामबहादुरको घटनास्थलमै मृत्यु भएको खुल्यो ।

रामनाथले हत्याका लागि प्रयोग गरेको कोदालो घटनास्थलदेखि १०४ फिट उत्तरपट्टि कुलोमा फालेका थिए । हत्यापछि उनले नुहाएर शरीर र कपडामा लागेको रगतका छिटाहरू धोए । उनले हत्याको समयमा लगाएको धोएर भिजेको जँघिया र गम्छा प्रहरीले उनको घरबाट बरामद गर्‍यो । हत्यापछि फरार रहेका रामनाथलाई पनि प्रहरीले लुकिछिपी बसेको अवस्थामा घटनाको १ घण्टा १५ मिनेटपछि बेलुका ६ः०० बजे उनकै घरबाट पक्राउ गर्‍यो ।

प्रहरीले रामबहादुरको शवको सर्जमिन मुचुल्का गरी परीक्षणका लागि बिहीबार राति नै जिल्ला अस्पताल जलेश्वर पठाएको छ ।

यसरी काका रामबहादुरको हत्या गरेर पक्राउ परेका रामनाथ हत्याको घटनामा जोडिएको यो पहिलोपल्ट भने होइन । यसअघि उनले हत्या अभियोगमै करिब सात वर्ष जेल जीवन बिताइसकेका छन् । उनी जेलबाट बाहिरएको दुई महिना पनि पुगेको छैन ।

उनीसमेतको संलग्नतामा २०५३ साल चैत ११ गते साविकको सहोडवा गाविस, वडा नं. ५ बस्ने रामविलास दास तत्मालाई कुटपिट गरी हत्या गरेको अभियोगमा कर्तव्य ज्यान मुद्दामा करिब ७ वर्ष जेल जीवन बिताएर २०७९ जेठ १५ गते गणतन्त्र दिवसको दिन केन्द्रीय कारागार, त्रिपुरेश्वर, काठमाडौंबाट छुटेका थिए ।

पक्राउ परेका रामनाथमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डीएसपी प्रकाश विष्टले बताएका छन् ।

यसअघि शीर्षकमा ‘दुई महिना नपुग्दै’ हुनुपर्नेमा अन्यथा हुन गएकाले क्षमायाचनासहित सच्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर