चोरीका २० मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० वटा मोटरसाइकल र स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ ।

ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमबीच विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ४ वटा स्कुटर सम्बन्धित धनीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले हस्तान्तरण गरेका हुन् ।

विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निवेदनपश्चात् परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइक र स्कुटर फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको प्रवउ भट्टले बताए ।

‘हाम्रो टोलीले उपत्यका आसपासको ईलाकामा विशेष सूचना संकलन गरी अपरेशनमा गई मोटरसाइकलहरू बरामद गर्दछन्, चोरीमा संलग्न मानिसहरूलाई पक्राउ गरी आवश्यक कारबाहिका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाउने गरेका छौं,’ भट्टले भने, ‘अनुसन्धानपश्चात् फेला परेका र बरामद गरेका मोटरसाइकलकहरू सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेका छौं ।’

प्रवउ भट्टले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हँुदै आएको तर स्वयं सवारीधनी पनि विशेष चनाखो र सजग हुनुपर्ने बताए । उनले सवारीचालकलाई थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरूको समेत प्रयोग गर्न अनुरोध गरे ।

मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पीडित सहायता इकाइबाट सादा पोशाकमा थप ट्राफिक प्रहरीसमेत ट्राफिक प्रहरी कार्यालयले परिचालन गरेको छ ।

सवारीसाधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाइनमार्फत समेत निवेदन दिन ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर