विवादित चिनियाँ कम्पनीलाई सिद्धबाबा सुरुङमार्गको ठेक्का

ठेक्का लिई समयमा काम सम्पन्न नगरेर विवादित बनेको चिनियाँ कम्पनीलाई फेरि अर्को महत्त्वपूर्ण आयोजनाको ठेक्का हात लागेको छ ।

चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको ठेक्का पाएको हो ।

यसअघि यो निर्माण कम्पनी आयोजनाको काममा लापरवाही गर्दा निलम्बनमा समेत परेको थियो । चाइना स्टेटले गौरवशाली आयोजना तराई/मधेश फाष्ट ट्रयाकको ठेक्का पाउँदा विवाद भएको थियो । । उसले बुटवल–नारायणगढ सडकको निर्माण ढिलाइ गर्दा पश्चिम नेपालका जनताले सास्ती भोगिरहेका छन् । निर्माण पूरा गरिसक्नुपर्ने समयमा आधा पनि काम पूरा भएको छैन ।

तर, त्यही कम्पनीले आइतबार सार्वजनिक सूचनामा ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रुपैयाँमा ठेक्का लिने आवेदन सबैभन्दा कम रकम भएपछि सार्वजनिक खरिद नियमावलीअनुसार पाएको हो ।

यस कम्पनीले देशका दुईवटा महत्त्वपूर्ण आयोजनाहरूको काममा आफ्नो कार्यकौशल देखाइसकेको छ । फाष्ट ट्रयाक र नारायणगढ–बुटवल सडकखण्डमा लिएको ठेक्का समयमा नसकिने निश्चितजस्तै बनेको छ ।

सिद्धबाबाको सुरुङमार्ग ५ वर्षमा सक्नुपर्ने उल्लेख छ । तर, कम्पनीको काम गराइको शैली र गतिले तोकिएको म्यादभित्र काम पूरा हुनेमा ढुक्क हुन सकिँदैन ।

साढे ३ वर्षमा पूरा गर्नेगरी २०७८ मा नेपाली सेनाले चिनियाँ कम्पनीहरू चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र पोली चयाङ्दासँग ठेक्का सम्झौता गरेको थियो । ५० अर्बमाथिको ठेक्का विवादमा परेका चिनियाँ कम्पनीलाई दिँदा लेखा समितिले प्रश्न उठाएर ठेक्का रद्द गरी प्रक्रिया नयाँ सुरु गर्नसमेत निर्देशन दिएको थियो ।

फाष्ट ट्रयाकको ११ वटा प्याकेज छ । ६ र ७ नम्बरको प्याकेज टुंग्याउन सेना लागेको छ । ८, ९ र १० नम्बरको प्याकेज ठेक्काको प्रक्रिया नै बढाइएको छैन । सबैभन्दा जटिल ११ नम्बरको प्याकेज हुने देखिएको छ । निर्माण कम्पनी निर्माणमा भन्दा कसरी समय बढाएर लागत बढाउने भन्नेमा लागिसकेको छ ।

बुटवल–नारायणगढ सडक खण्ड निर्माण ३५ महिना बितिसक्दा १९ प्रतिशत पनि पूरा नगर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेटलाई फाष्ट ट्रयाक दिनुले नै आशंकाहरू जन्माएका थिए । जसले देखादेख काम सुस्त गरिरहेको छ उसैलाई गत वर्ष २० अर्ब माथिको फाष्ट ट्रयाकको ठेक्का हात परेको थियो ।

बुटवल–नारायणगढ सडकको काम नै फितलो र ढिलो हुँदा यही गतिमा बढेमा ५ वर्षमा पनि सडक निर्माण पूरा हुन नसक्ने देखिइसकेको छ । १९ डिसेम्बर २०१८ मा निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर भएको थियो । चिनियाँ ठेकेदार कम्पनीले ७ फेब्रुअरी सन् २०१९ मा काम सुरु गर्यो । विभिन्न बहानामा काम ढिलो भइरहेको छ । १२ मध्ये ११ वटामात्र ठूला पुलको काम भइरहेका छन् । २२ मध्ये १५ साना पुलको काम भइरहेको छ ।

आयोजनामा कुल ४३ पुल छन् जसमध्ये ३९ साना र ४६२ कलभर्ट पनि छन् । यो सडक १६ अर्ब ९९ करोडमा निर्माण पूरा गर्ने सम्झौता भएको हो । यसमा पनि लागत बढाउने गरी गतिविधि हुन थालिसकेको छ ।

चाइना स्टेट कम्पनीका कामहरू यसैगरी ढिलो हुने र विवादमा पर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर