प्रहरी महानिरीक्षक सिंहले गरे धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको उद्घाटन

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित नेपाल प्रहरी स्कुलको हाताभित्र निर्मित सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको सोमबार उद्घाटन गरेका छन् ।

साथै सोही अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी स्कुलको हाताभित्र वृक्षरोपणसमेत गरेका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले अस्पताललाई सञ्चालन गर्ने बिन्दुसम्म ल्याउने कार्यमा महत्त्वपूर्ण योगदान दिने सबैलाई धन्वयाद व्यक्त गर्दै अस्पतालले सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराउँदै नेपाल प्रहरीको जनमुखी कार्यलाई निरन्तरता दिएको उल्लेख गरे ।

प्रहरी महानिरीक्षक सिंहले अस्पतालले प्रदेशअन्तर्गत विभिन्न जिल्लाहरूमा प्रहरी कर्मचारीहरू स्वास्थ्य उपचारकै लागि उपत्यका नै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्दै सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गरिदिएको र यसले समग्र प्रहरी काम–कारबाहीमा थप चुस्तता र प्रभावकारिता ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

अस्पतालमा आउने सेवाग्राहीप्रति सभ्य बोली, असल व्यवहार र उचित परामर्श गर्नतर्फ अस्पताल परिवारलाई विशेष सजकता अपनाउन निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले चिकित्सकीय क्षेत्रका आधुनिक प्रविधि र विकासलाई आत्मसात गर्दै अस्पतालको स्तरोन्नतति र विकास संगठनको प्राथमिकतामा रहेको बताए ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जका प्रमुख प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापा, गेटा मेडिकल कलेजका निर्देशक डा. प्रमोद जोशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधिहरू, सञ्चारकर्मी, समाजसेवीलगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर