आदिवासी जनजातिहरूको उत्थान नभई मुलुकलाई समृद्ध बनाउने सपना साकार हुँदैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आदिवासी जनजातिको हितका लागि धेरै महत्त्वपूर्ण काम गर्दै आएको बताएका छन्।

२८ औं विश्व आदिवासी दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भएअनुसार उनीहरूको हक, अधिकार र सुविधा दिलाउने कार्यमा पनि सरकार सदैव क्रियाशील रहेको बताए।

आदिवासी जनजातिहरूको पहिचान गर्ने र उनीहरूको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नका लागि आफू नेतृत्वको विगतमा बनेको सरकारले नै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको उनले स्मरण गराए। प्रधानमन्त्री देउवाले आदिवासी जनजातिहरूलाई राज्यको कुनै पनि अवसरबाट बञ्चित हुन नदिन सम्बन्धित सबै पक्षले मिलेर काम गर्न आवश्यक रहेको पनि बताए।

प्रधानमन्त्री देउवाले आदिवासी जनजातिहरूको उत्थान नभई मुलुकलाई समृद्ध बनाउने सपना यथार्थमा परिणत नहुने कुरालाई आत्मासात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै आदिवासी जनजातिहरूको उत्थान गरेर मात्रै मुलुकको समुन्नति हुने भएकाले कांग्रेसले त्यस विषयमा गम्भीर भएर काम गरिरहेको दाबी गरे। उनले एमालेले अघि सारेको समृद्ध मुलुक बनाउने अभियानमा आदिवासी जनजातिहरू अटाउन नसक्ने जिकिरसमेत गरे।

कांग्रेसले मात्रै उनीहरूको हक, अधिकार र सुविधाका लागि काम गरिरहेको महामन्त्री थापाको भनाइ थियो। महामन्त्री थापाले आफ्नो पार्टीले जनजातिहरूको पहिचान मेटिन नदिन संविधान निर्माणको बेलामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर