प्रहरी महानिरीक्षक सिंहले भने– म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र सुरक्षाकर्मीलाई प्राथमिकता

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र सुरक्षाकर्मीलाई प्राथमिकता दिइने बताएका छन्। प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक सिंहले यस्तो बताएका हुुन्।

‘आम निर्वाचनका लागि आवश्यक प्रारम्भिक तयारी पूरा भएको छ। केन्द्रीय निर्वाचन सेल एआईजी सहकुल थापाको नेतृत्वमा गठन भएको छ,’ आईजीपी सिंहले भने, ‘म्यादी प्रहरी भर्नामा स्थानीय तह निर्वाचनमा छनोट भएका र पूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिइनेछ। संख्या अझै निर्क्यौल भएको छैन । हामीले प्रहरीलाई निर्वाचन सुरक्षाका लागि आवश्यक सबै विवरण गृह मन्त्रालयमा बुझाएका छौं।’

उनले मिटर ब्याजीका पीडितहरूलाई आन्दोलन गर्नुको साटो प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गरे। महानिरीक्षक सिंहले उनले अपराध र गैर चरित्र भएका प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्ने बताए।

आफू महानिरीक्षक नियुक्त भएको १०० दिनलाई उनले आफैंले मूल्यांकन गर्नुभन्दा सेवाग्राहीबाट मूल्यांकन गर्ने बताए । उनले महानिरीक्षक भइसकेपछि धेरैले आशाको केन्द्रमा राख्ने गरेको बताए।

उनले भने, ‘महानिरीक्षक भइसकेपछि अवसर र चुनौती दुबै हुन्छ, मेरो कार्यकाल छोटो छ। मैले आठवटा लक्ष्य लिएर अघि बढेको छु। धेरै महत्त्वाकांक्षी भन्दा पनि कार्यान्वयन गर्नसक्ने काम मनैबाट गर्नेछु।’

उनले प्रहरीले निर्वाचन निष्पक्ष बनाउन हरसम्भव प्रयास गर्ने बताए। प्रहरी कुनै दल विशेषको पक्षमा नलागेको र कहिल्यै पनि नलाग्ने बताए।

‘मेरा प्रहरी अधिकारी र जवान व्यावसायिक छन् । हामी कसैको पक्षमा छैनौं । कानुन र प्रक्रियाको पूर्ण पालना गराउने छौं,’ महानिरीक्षक सिंहले भने।

महानिरीक्षक सिंहले बढुवाका विषयमा सोधिएको प्रश्नको जवाफमा कार्यसम्पादन र कारबाहीको अवधि पूरा भएपछि मात्रै बढुवा गरिएको दाबी गरे । उनले बढुवामा उत्कृष्ट र व्यावसायिक अधिकृतको बढुवा भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर