आगो लगाएर श्रीमती र सासूको हत्या प्रयास, फरार रहेको चार दिनपछि पक्राउ

नेपाली समाजमा प्रचलित लोकोक्ति छ– ‘शंकाले लंका जलाउँछ।’ अहिले यो लोकोक्ति महोत्तरीमा भएको एक घटनासँग चरितार्थ हुन आएको छ। सो स्थानमा एक पुरुषले शंकाकै आधारमा श्रीमती र सासूको शरीरमा मट्टितेल छर्केर आगो लगाई हत्याको प्रयास गरेका छन्।

घटना हो– गत शनिबारको। रातिको ११ः४० बजेको थियो। महोत्तरीको भंगाहा नगरपालिका–१ कञ्चजवनका आमाछोरी ६५ वर्षीया रेशमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदा मस्त निद्रामा थिए। एउटै कोठामा सुतेका उनीहरूको शरीरमा अचानक मट्टितेल छर्केर आगो लगाइयो। त्यसरी आगो लगाउने अरू कोही नभएर प्रमिलादेवीका खुद श्रीमान् ४० वर्षीय शंकर सदा थिए।

महोत्तरीको औरही नगरपालिका–८ भोइल टिमकिया ठेगाना भएका शंकर वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्षदेखि श्रीमती र सासूसँगै ससुराली घर कञ्चजवनमा बस्दै आएका थिए। घटनापछि उनी फरार भए।

यता प्रमिलादेवी र रेशमादेवी आगोले शरीरका विभिन्न भाग जलेर गम्भीर घाइते थिए। उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार सम्भव भएन र उनीहरूलाई काठमाडौं रेफर गरियो। अहिले उनीहरूको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

फरार शंकरकाे खाेजीमा प्रहरीले विशेष सूत्र प्रयोग गर्‍यो। र, उनी घटनाको चार दिनपछि बुधबार पक्राउ परे। उनलाई भारतीय काउन्टर पार्टसँगसमेत समन्वय गरी खोजतलास गर्ने क्रममा बुधबार अपराह्न ४ः४५ बजे नेपाल–भारतको सीमावर्ती क्षेत्र महोत्तरीको सम्सी गाउँपालिका –६ स्थित सम्सी–कन्हवा बोर्डरको नेपालतर्फको भागमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कायालय महोत्तरीका सूूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले जानकारी दिए।

प्रहरीको अनुसन्धानबाट खुलेको छ– शंकरले श्रीमती प्रमिलादेवी परपुरुषसँग अवैध सम्बन्ध रहेको र त्यसमा सासू रेशमादेवी पनि सहयोगी रहेको भन्ने शंका गरेर उनीहरूको हत्या प्रयास गरेका हुन्।

प्रहरीका अनुसार सोही शंकामा शंकर र प्रमिलादेवीबीच पटकपटक विवाद र भैंझगडा हुुने गरेको थियो। र, शनिबार पनि उनीहरूबीच सो क्रम दोहोरिएको थियो।

अनुसन्धानमा संलग्न प्रहरी टोलीले घटनाको मुचुल्का तयार गरी घटनास्थलबाट मट्टितेल ल्याउन प्रयोग गरेको ग्यालेन, जलेको कपडाका टुक्राहरू बरामद गरेको छ।

शंकरका जेठान अनुपलाल सदाले शंकरलाई विपक्षी बनाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ज्यान मार्ने उद्योग शीर्षकमा जाहेरी दिएको प्रहरीले जनाएको छ।

घटनाको जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा मातहतका कार्यालयहरू, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले नियमित तथा प्राविधिक अनुुसन्धान विश्लेषण गरी अनुसन्धान गरेको थियो।

पक्राउ परेका शंकरमाथि ज्यान मार्ने उद्योग कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर