निहारिका राजपूतको विषय उठाउँदै एमाले सांसदले भनिन्- सरकार कता हराएको ? खोजी गरी पाऊँ

नेकपा एमालेकी सांसद निरुदेवी पालले निहारिका राजपूत र नाबालक दुवैलाई सरकारले तत्काल न्याय दिलाउनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पालले सरकारसँग यस्तो माग गरेकी हुन् ।

उनले सरकारले दोषी प्रमाण प्रशस्त हुँदासमेत निहारिकालाई न्याय दिन नसकेको आरोप लगाइन् । सांसद पालले बलात्कार हिंसामा परेका महिलालाई सरकारले तत्काल न्याय दिनुपर्ने बेलामा सरकार हराएर खोज्नुपर्ने अवस्था आएको बताइन् । उनले निहारिका नारीको अस्मितालाई खेलौनाको रूपमा हेरिरहेको यो समाजलाई चुनौती दिने हिम्मत गर्दै अगाडि बढेको तर राज्यले न्याय दिन नसकेको दाबी गरिन् ।

सांसद पालले निहारिका राजपूत आफूमाथि भएको बलात्कार र बलात्कार स्वरूपमा जन्मिएको सन्तान दुवैको न्यायका लागि पटकपटक अनसन बस्दासमेत सरकारले डीएनए परीक्षण नगर्नु पीडितलाई अझै पीडा दिनु भएको बताइन् । उनले निहारिका र निर्मला पन्तजस्ता छोरीहरूले न्याय कहिले पाउने सरकार भन्दै प्रश्न गरिन् ।
उनले भनिन्, ‘सरकार कता हराएको ? खोजी गरी पाऊँ । पीडित महिलाहरूलाई तत्काल न्याय दिलाइ पाऊँ ।’

सांसद पालले अहिले महिला आफ्नै घर, समाज र बाटोमा समेत सुरक्षित नभएको दाबी गरिन् । उनले बलात्कारबाट पीडितले ढिलो न्याय पाउनु नपाउनु सरह भएको भन्दै निहारिका र अवोध बालकले अहिले नपाएको अधिकार कहिले पाउने भन्दै सरकारलाई प्रश्न गरिन् ।

सांसद पालले यस्तो संवेदनशील कुरामा सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर