स्कुलका गाडी चेकिङमा कडाइ : मापसे गरेर चलाउने थप ६ जना चालक कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुलका गाडी चेकिङ अभियानलाई कडाइ गर्दै लगेको छ । साउन ८ गतेदेखि सञ्चालन गरिएको अभियानमा आइतबारसम्म ट्राफिक नियम उल्लंघन गर्ने ११७ वटा स्कुलका गाडी चालक कारबाहीमा परेका छन् । जसमध्ये २२ जनाले मादक पदार्थ सेवन गरी गाडी चलाएको भेटिएको छ ।

उपत्यकामा नाम चलेकै स्कुलका गाडी चालकले पनि एकाबिहानै मापसे गरेर गाडी चलाउने गरेको पाइएको छ । आइतबार गरिएको चेकिङमा मात्रै ६ जना स्कुलका गाडी चालकले मापसे गरेको भेटिएको छ ।

बिहान साढे ५ बजेदेखि साढे ८ बजेको बीचमा गरिएको चेकजाँचमा १६ जना स्कुलका गाडी चालकले ट्राफिक नियम उल्लंघन गरेको पाइएको थियो । तिनैमध्ये ६ जनाले मापसे गरेको पाइएको हो ।

मापसे गरेर स्कुलका गाडी चलाउने चालकहरूमा बा ३ क ९३५ नम्बरको ओमेगा सेकेन्डरी स्कुल कुमारीपाटीका बस चालक ईन्द्रबहादुर श्रेष्ठ , बा १ क ९४५६ नम्बरको टाइम इन्टरनेशनल कलेजका बस चालक राजकुमार श्रेष्ठ र बा १ क ९३५६ नम्बरको त्रियोग हाइस्कुलका बस चालक सांगेल शेर्पा रहेका छन् ।

त्यस्तै बा ८ च ९३८३ नम्बरको रेडियन्ट पब्लिक स्कुलका भ्यान चालक शिवकुमार क्षेत्री, बा १८ च ९८०१ नम्बरको ओरेन्ट इष्ट मन्टेश्वरी स्कुल बल्खुका भ्यान चालक मनोज महर्जन र बीएबी ००६४ नम्बरको निटिज बोर्डिङ स्कुल कुपण्डोलका भ्यान चालक भीमसेन नेपालीले पनि मापसे गरेको पाइएको छ ।

मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिइ नियमअनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराइ अर्को चालकमार्फत विधार्थीहरूलाई गन्तव्यमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर