नेपाल-भारत सीमाबाट पाकिस्तानी युवती पक्राउ, अनुसन्धान गर्दै भारतीय गुप्तचर निकाय

भारतमा ७५ औं स्वतन्त्रता दिवसको भव्य तयारी भइरहेका समयमा एक जना पाकिस्तानी युवती छद्म नाम र नक्कली कागजपत्रका आधारमा भारतीय बनेर प्रवेश गर्न खोजेपछि यतिबेला दिल्ली र पटनास्थित सुरक्षा निकाय सर्तक बनेका छन् ।

पाकिस्तानबाट दुबई हुँदै काठमाडौं ओर्लिएर नक्कली भारतीय आधार कार्ड देखाएर भारत प्रवेश गर्दै गरेको अवस्थामा ती पाकिस्तानी युवती पक्राउ परेकी हुन् ।

उनलाई सशस्त्र सीमा बलको टोलीले महोत्तरीस्थित नेपाल-भारत सीमा भिट्ठामोडबाट नियन्त्रणमा लिएको हो ।

हाल ती युवतीलाई सितामणिस्थित जिल्ला अधिक्षकको कार्यालयमा राखिएको छ । उनी के प्रयोजनका लागि भारत प्रवेश गरेकी हुन् भन्ने विषयमा भारतीय गुप्तचर निकाय इन्टिलिजेन्स ब्यूरो र स्पेशल सेलले अनुसन्धान गरिरहेका छन् ।

प्रहरी उच्च अधिकारीहरूका अनुसार विश्वभर फैलिएको मुस्लिम धार्मिक प्रचारकहरूको साझा संस्था दावत—ए—इस्लामीसँग आबद्ध ती युवतीले आफू प्रेमी भेट्न भारत जान लागेको प्रारम्भिक बयान दिएकी छन् ।

भारतीय सुरक्षा अधिकारीहरूका अनुसार उनी र एक जना भारतको तेलंगाना राज्यका युवकबीच सामाजिक सञ्जालमार्फत प्रेम भएको बयान उनले दिएकी छन् । सुरक्षा अधिकारीहरूको प्रारम्भिक अनुसन्धानमा समेत युवतीको बयानलाई पुष्टि गर्ने आधारहरू उनको मोबाइलमा भेटिएका छन् ।

तर, भारतीय सुरक्षा अधिकारीहरूले उनीसहित नियन्त्रणमा रहेका अन्य दुई युवाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

नेपालस्थित उच्च सुरक्षा अधिकारीका अनुसार पाकिस्तानको फैसलाबादकी २५ वर्षीया खाजिदा नूरलाई भारतीय सुरक्षाकर्मीले सीमाबाट नियन्त्रणमा लिएका हुन् ।

उनी पाकिस्तानबाट २१ साउनमा फ्लाइ दुबईको फ्लाइट नम्बर ३४४ बाट दुबई र सोही दिन फ्लाइ दुबईको फ्लाइट नम्बर ५३९ बाट काठमाडौं आइपुगेकी हुन् ।

उनले बोकेको पासपोर्ट नम्वर जीसी ००००८८१ रहेको छ । साउन २१ गते शनिबार राति काठमाडौंबाट रात्रि बस चढेर मधेस प्रदेशको सिरहा आइपुगेकी उनलाई सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ का जीवनकुमार साहले २२ गते बिहान रिसिभ गरेर सिरहाको एक होटलमा राखेर साउन २३ गते महोत्तरीको जलेश्वर लगेका थिए ।

जलेश्वरमा पहिलेदेखि नै किसान वाग, बाहदुरपुर जिल्ला हैदराबाद तेलंगानाका युवक सैयद महमुद उपस्थित थिए । उनीहरूको जलेश्वरमै भेट भयो । सैयदले युवतीलाई भारत प्रवेश गराउन नक्कली आधारकार्ड बनाएर राखेका थिए । सोही आधारमा सैयदले युवती नूरलाई लिएर अघि बढेपछि नेपाली युवक पछिपछि भारततर्फ लागेका थिए ।

भिठ्ठामोड नाकाबाट भारततिर जाँदै गरेको अवस्थामा पाकिस्तानी युवतीप्रति शंका लागेर सोधपुछ गर्दा उनी पक्राउ परेकी हुन् ।
भारतीय सुरक्षा अधिकारीहरूका अनुसार भारतीय स्वतन्त्रता दिवसका लागि सीमामा गरिएको कडिकडाउका कारण ती युवती पक्राउ गर्न सफलता मिलेको हो ।

उनीहरूका अनुसार नूरले फैसलाबादस्थित जीसी ओमेन युनिभर्सिटी फैसलावादबाट बीएस साइकाेलाेजी विषयमा ब्याचलर गरेकी छन् । नूरको ४ सेप्टेम्बरमा फ्लाइ दुबईको फ्लाइट नम्बर ५७६ बाट साँझ ७ बजे काठमाडौंबाट दुबई र सोही दिन राति ११ः३५ मा फ्लाइट नम्बर ३४३ मा दुबईबाट फैसलाबाद फर्किने टिकटसमेत फेला परेको छ ।

उनले सुरक्षाकर्मीलाई आफूहरू हैदराबादमा विवाह गर्ने र यतै घरजम गरेर बस्ने योजनामा रहेको बताए पनि उनका साथबाट रिटर्न टिकट फेला परेपछि शंका बढाएको हो ।

स्मरण रहोस्, दक्षिण भारतलाई केन्द्र बनाएर इन्डियन मुजाहिद्दिन सक्रिय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर