राजस्व चुहावट गरेको अभियोगमा एक करोड बढी बिगो मागदाबी गर्दै पाँच जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। राजस्व अनुसन्धान कार्यालय पथलैयाले रुपेन्देहीको बुटवल– १३ स्थित श्याम पशुपति इन्टरप्राइजेजका प्रोप्राइटर लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ बस्ने श्यामबहादुर यादवसहित पाँच जनाविरुद्ध मंगलबार उच्च अदालत पाटन हेटौंडा इजालासमा मुद्दा दर्ता गरेको हो।

इन्टरप्राइजेजका प्रोपाइटर यादवसहित पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ३ बस्ने धर्मराज हरिजन, मकवानपुरको थाहा नगरपालिका–१ घर भई बुटवल उपमहानगरपालिका–४ बस्ने रमेश गोपाली , कपिलवस्तुको मायादेवी गाउँपालिका–७ बस्ने इस्तीहाक अहमद, नवलपरासी सरावल गाउँपालिका–४ बस्ने बिनुमाया श्रेष्ठ र बुटवल उपमहानगरपालिका–११ बुद्धनगर बस्ने अनिल श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो। उनीहरूले जेठ २५ गते बिहान ९ बजे चितवनको भरतपुर महानगरपालिका–१ बालकुमारी चोकमा लु १ ख ९५४५ नम्बरको ट्रकमा सिमेन्ट लोड गरेको र उक्त सिमेन्टमाथि लुकाइछिपाइ राखेर विभिन्न किसिमका २३ पोका कपडाहरू ओसारपसार गरी भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छली गरेको विभागले जनाएको छ।

श्याम पशुपती इन्टरप्राइजेजको बिजक नं. ४६ मा उल्लेख गरेको ८७ लाख ८ हजार ७६९ रुपैयाँ र लु १ ख ९५४५ नम्बरको ट्रकबाट बरामद भएको कपडाको बिगो २३ लाख २४ हजार ७१७ रुपैयाँ गरी उनीहरूविरुद्ध १ करोड १० लाख २४ हजार २९ रुपैयाँ बिगो कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ (पहिलो संसोधन) को दफा २३(१) बमोजिमको सजाय र सोही ऐनको दफा २३(४) बमोजिम बुझाउनुपर्ने राजस्व रकमको ब्याजसमेत असुलउपर गर्न मागदाबी गरिएको छ।

साथै प्रतिवादीहरूबाट ८७ लाख ८ हजार ७६९ रुपैयाँ बिगो बराबरको मालसामान नभई कागजमात्र बरामद भएको तर भन्सार चोरीपैठारी गरी राजस्व चुहावट भएको भन्ने अनुसन्धानबाट खुलेकाले सोही रकम बराबरको बिगो असुलउपर गर्न मागदाबी गरिएको छ ।

यस्तै अर्का प्रतिवादी लु १ ख ९५४५ नम्बरको ट्रक चालक धर्मराज हरिजनलाई चुहावट भएको रकम २३ लाख २४ हजार ७१७ रुपैयाँ बिगो कायम गरी राजस्व चुहावट ( अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २३(१) बमोजिमको सजाय तथा सोही ऐनको दफा २३(४) बमोजिम बुझाउनुपर्ने राजस्व रकमको ब्याजसमेत उनीबाट असुलउपर गर्न मागदाबी गरिएको छ।  त्यस्तै बरामद भएको कपडा जफत गर्नसमेत मागदाबी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर