एमालेले तय गर्‍याे केन्द्रीय कमिटी बैठकका निर्वाचनकेन्द्रित एजेण्डा

नेकपा (एमाले)ले भोलिबाट सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकका लागि आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन केन्द्रित एजेण्डाहरू तय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी पोलिटब्यूरो बैठकले सो निर्वाचनको तयारीमा केन्द्रित भई भोलिबाट सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको हो ।
एमालेको केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते बस्दैछ । सोही बैठकका लागि आगामी निर्वाचन केन्द्रित एजेण्डाहरू पार्टी पोलिटब्यूरो बैठकले तय गरेको सचिव योगेशकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा सामूहिक छलफल गरी प्राप्त सुझावलाई समावेश गरी पारित गरिनेछ । त्यसैगरी बैठकमा सातवटै प्रदेशका प्रदेश कमिटीका अध्यक्षहरूले आ–आफ्ना प्रदेश मातहतका निर्वाचन क्षेत्रको अवस्थासहितको रिर्पोटिङ गर्नेछन ।

सचिव भट्टराईले आगामी निर्वाचनमा पार्टीको अवस्थाबारे सो रिर्पोटिङले पनि जानकारी गराउने भएकाले प्रदेश कमिटीका अध्यक्षहरूको रिर्पोटिङको विषयलाई पनि केन्द्रीय कमिटी बैठकको एजेण्डा बनाइएको बताए । बैठकमा निर्वाचनका लागि घोषणापत्र बनाउने कुरालाई पनि एजेण्डाका रूपमा प्रस्तुत गरिनेछ ।

एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनका लागि उम्मेदवारहरूको मापदण्ड पनि तय गर्नेछ । पोलिटव्यूरो बैठकले पार्टीप्रति प्रतिबद्ध, राजनीतिक, वैचारिक हिसाबले स्पष्ट, जित्न सक्ने, सिनियर र लोकप्रियलाई उम्मेदवार बनाउने निर्णय गरेको र सोही विषयमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुने सचिव भट्टराईले बताए ।

बैठकले केन्द्रीय कमिटी बैठकमा फरक मतलाई पनि छलफलमा सहभागी गराउने निर्णय गरेको छ । पार्टी स्थायी कमिटीका नेता घनश्याम भुसालले फरक मत प्रस्तुत गर्ने तयारी गरिरहेका बेला एमाले सचिव भट्टराईले केन्द्रीय कमिटी बैठकमा पनि त्यसबारे छलफल हुने बताए ।

पार्टीलाई एकताबद्ध राख्दै आजका चुनौतीहरूको सामना गरेर अघि बढ्ने गरी केन्द्रीय कमिटी बैठकमा छलफल हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *