भारतले नेपाललाई दुई प्रमुख बन्दरगाहमा पहुँच दिने

भारतले नेपाललाई दुई प्रमुख बन्दरगाहमा पहुँच प्रदान गर्ने भएको छ। आफ्नो ’छिमेकी पहिलो’ नीति अन्तर्गत नरेन्द्र मोदी सरकारले अब नेपाललाई भारतका दुई रणनीतिक बन्दरगाहहरू गुजरातको मुन्द्रा बन्दरगाह र ओडिशाको धम्रा बन्दरगाहबाट सामानहरू निर्यात र आयात गर्न दिने निर्णय गरेको हो । यसका लागि थप वार्ता भइरहेको कूटनीतिक स्रोतले बताएको छ।

भारत सरकारको यो कदमले नेपाललाई भारतीय बजारमा प्रवेश गराउने मात्रै नभई दक्षिणपूर्व र मध्य एसियाली क्षेत्रका अन्य बजारहरूमा पहुँचका लागि भारतलाई प्रवेशद्वारको रूपमा प्रयोग गर्न पनि सक्षम बनाउने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

नेपालले दशकौंअघि हस्ताक्षर भएका व्यापार तथा पारवहन सन्धि दुवैमा यस्तो स्तरोन्नति गर्न भारतलाई लामो समयदेखि दबाब दिँदै आएको थियो । सन् १९६० सेप्टेम्बरमा मित्रवत् छिमेकीहरूबीच हस्ताक्षर भएको ‘व्यापार र पारवहन सन्धि’ को रूपमा सुरुमा सम्झौतालाई अन्तिम रूप दिइएको थियो। त्यसपछि सन् १९७८ मा व्यापार र पारवहन गरी दुई भागमा बाँडिएको थियो। यी दुवै सन्धिहरू प्रत्येक सात वर्षमा स्वतः नवीकरण हुन्छन्। अन्तिम पटक यी दुई सन्धिहरूमाथि कुनै परिवर्तनबिना अक्टोबर २०१६ मा समीक्षा गरिएको थियो।

भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भए पनि व्यापार सन्धिले नेपाललाई भारतीय बजारमा एकतर्फी भन्सारमुक्त पहुँच प्रदान गरेको छ। तर, नेपालले विभिन्न अवरोधका कारण भारतीय बजारमा प्रवेश पाउन सकेको छैन। हाल नेपालले कोलकाता र विशाखापट्टनम बन्दरगाह मात्र प्रयोग गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर