‘सम्पत्ति शुद्धीकरणको जोखिम बाह्य मुलुकलाई देखाउने होइन, आन्तरिक रूपमा सुधार गर्ने हो’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धीकरण (वित्तीय अपराध) सम्बन्धी जोखिम अन्तर्राष्ट्रिय मुलुकलाई देखाउने भन्दा पनि आन्तरिक रूपमा सुधार गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले मुलुकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम धेरै रहेकाले सरकारले नियन्त्रण गर्न जरुरी रहेको बताए । गभर्नर अधिकारीले सम्पत्ति शुद्धीकरणको समस्या क्षणिक नभएर दीर्घकालीन रूपमा सरकारले निराकरण गर्नुपर्ने बताए ।

उनले सम्पत्ति शुद्धीकरणमा अन्तर्राष्ट्रिय रूपमा कालोसूचीमा पर्दा गम्भीर समस्या आउनसक्ने बताए । उनले सन् २००९ देखि २०१४ सम्म नेपाल अनुगमनमा परेका बेला संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदूतावासको बैंक खाता खोल्न नाम चलेका अमेरिकी बैंकहरूले अस्वीकार गरेको स्मरण गरे ।

गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग सहकार्य र समन्वयन गर्नको लागि सम्पत्ति शुद्धीकरणमा नेपालले आफ्नो सम्पूर्ण तयारी पूरा गर्नुपर्ने बताए । उनले नेपाल भ्रष्टाचारले गाँजेको र अवैध कमाइ गर्नेहरूको शेयर भ्वाइसमाथि हुने गरेको भन्दै नेपाल सम्पत्ति शुद्धीकरणमा कमजोर रहेको बताए ।

गभर्नर अधिकारीले नेपाल भ्रष्टाचार र हुण्डी कारोबारको जोखिममा रहेको बताए । उनले यसले गर्दा अन्तराष्ट्रिय मूल्यांकनमा कम नम्बर आए पनि सरकारी पक्षले राम्रो काम गरिरहेको बताए ।

गभर्नर अधिकारीले राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणको विषयमा निजी क्षेत्रसँग पनि नजिकमा रहेर काम गर्न चाहेको बताए । उनले निजी क्षेत्रले बनाएरको प्लेटफर्म प्रयोग गरेर सबैलाई हुने साझा धारणा बनाउन नसकिएको बताए ।

गभर्नर अधिकारीले राष्ट्रिय परिचय पत्रको अवधारणले सम्पत्ति शुद्धीकरणको काम गर्न अझ सजिलो हुने देखिएको बताए । उनले डिजिटल कारोबारमा कोभिड अगाडि र पछाडि आकाश जमिनको फरक देखिएको बताए ।

गभर्नर अधिकारीले असार एक महिनामा ४२ लाख वटा कारोबारमा १५ अर्बको बराबरको क्यूआर कोडमार्फत मात्रै कारोबार भएको बताए । उनले कनेक्ट आईपीएस, आईपीएस डिजिटल पेमेन्ट, वालेट र मोबाइल बैंकिङको कारोबार व्यापक भएको बताए ।

गभर्नर अधिकारीले गत कात्तिक महिनाको १ गते ७ सय २८ अर्बको कारोबार रहेकोमा त्यो कारोबार ६ सय १० अर्ब मात्रै रहेको बताए । उनले कात्तिकदेखि भदौ सम्ममा १२८ अर्ब क्यास कारोबार घटेको बताए । उनले क्यूआर, मोबाइल बैंकिङ कारोबार बढ्नु डिजिटलाइजेसनको प्रभाव भएको बताए ।

गभर्नर अधिकारीले नेपालले डिजिटल कारोबारमा ठूलो फड्को मारेको बताए । उनले डिजिटल कारोबारमा ठूलो फड्को मारे पनि जोखिम नै धेरै रहेको स्वीकार गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *