भारतले नेपाललाई २२ करोड ३८ लाख बराबरकाे सैन्य सामग्री सहयोग गर्ने

भारतीय थल सेनाअध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि भोलि नेपाल आउँदैछन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने छिन् ।
राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । त्यस अवसरमा सेनाध्यक्षलाई खड्ग र प्रमाणपत्र पनि प्रदान गरिनेछ ।

नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रहिआएको छ ।
२००७ मा भारतीय सेनाका फिल्ड मार्शल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिएको थियो ।
२०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलोपटक भारतीय सेनाको मानार्थ महारथी विभूषित गरिएको थियो।

अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाएका थिए ।

सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो ।
हालसम्म भारतका २१ र नेपाली सेनाका १७ जना सेनापतिले यस्तो सम्मान प्राप्त गरिसकेका छन् ।

दुवै सेनाबीच सहअस्थित्व र समानता छ

नेपाल र भारतबीचको विशिष्ट एवं बहुआयामिक सम्वन्धको परिप्रेक्ष्यमा दुवै देशका सेनाबीच आपसी सहअस्तित्व र समानतामा आधारित प्रचलनले समग्रमा नेपालको परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा प्रवर्द्धन तथा सामरिक प्रतिरक्षामा समेत योगदान पुग्ने सैनिक प्रवक्ता नारायण सिल्वाल बताए । उनले भने “मानार्थ महारथीबाट शुशोभन गर्ने परम्पराले दुई देशबीच सद्भाव र सौहार्दपूर्ण सम्बन्ध थप प्रगाढ तुल्याउन योगदान पुर्‍याउदै आएको छ ।”

नेपाल र भारत दुवै मुलुकले यस्तो सुशोभन कार्यक्रम राष्ट्रपति भवनमै आयोजना गर्ने परम्पराले सहअस्तित्व र समानताका आधारलाई पुष्ट्याइ गरेको छ । केही वर्षअघि भएको नाकाबन्दी खुलाउन सैनिक कूटनीतिमार्फत दुवै देशका सेनाको पहलमा ‘ब्रेक थ्रु’ भएको थियो । प्राकृतिक प्रकोप र भूकम्पका समयमा भारतीय सेनाबाट सक्रियाताका साथ खोज, उद्धार र राहतमा सहयोग प्राप्त हुँदैआएको छ।

नेपाली र भारतीय सेनाबीच सहकार्यका सिलसिलामा विगतदेखि नै एक–अर्का देशमा विभिन्न सेमिनार, तालिम र अभ्यास चल्दैआएको छ । नेपाली सेनाका अनुसार, भारतमा सञ्चालन भएका विभिन्न तालिममा सन् १९८९ देखि हालसम्म दुई हजार चार सय १७ अधिकृत र एक हजार तीन सय ७८ अन्य दर्जाको सहभागिता भइसकेको छ ।

मानार्थ प्रदान गर्ने अद्भूत प्रचलन

सेनाका पूर्वउपरथी हिमालय थापाले दुवै देशका सेनाबीच सुमधुर, सद्भावपूर्ण, सुदृढ र प्रगाढ सम्बन्ध रहेको बताउँछ्न् । रासससँगको कुराकानीमा उनले भने, “सेनाको तालिम र अभ्यासका आधारमा सोच विचार र ‘ग्रुमिङ’को तरिका एकै खालको छ, सेनाको प्रशंसनीय र उत्कृष्ट काम, लगन र प्रतिबद्धताले एक–अर्का देशका सेनापतिलाई मानार्थ सम्मान प्रदान गर्ने अद्भूत प्रचलन रही आएको छ ।”

भारतीय सेनामा ठूलो सङ्ख्यामा नेपाली युवा कार्यरत रहनुले पनि दुई देशबीचको सम्बन्धलाई सरकार र जनस्तरमा समेत सुमधुर तुल्याउन विशिष्ट योगदान पुर्‍याएको छ । भारतीय सेनाले सन् २०१० देखि हालसम्म नेपाली सेनालाई करिब छ अर्ब भारतीय रुपियाँ मूल्य बराबरको हातहतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, हेलिकप्टर, मोटर र मेडिकल उपकरजस्ता सैनिक सामग्री केही सहयोग र केही ठूलो सहुलियत दरमा सामग्री उपलब्ध गराउँदै आएको छ ।

कोरोना सङ्क्रमणले आक्रान्त तुल्याएको समयमा भारतीय सेनाले आइसियु भेन्टिलेटर र अस्पतालका लागि आवश्यक मेडिकल सामग्री पनि सहयोग गरेको थियो । सन् २००३ पछि गठन भएको सुरक्षा मामिलासम्बन्धी नेपाल–भारत परामर्श समूहको बैठकमा भएका सहमतिअनुरुप भारतीयले ती सामग्री नेपाललाई उपलब्ध गराएको हो ।

उक्त बैठकको सुरुआत हुन अघि पनि भारतीय सेनाले हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, हवाई साधन, सवारी साधन, हलेमेट, बुलेटप्रुफ ज्याकेट तथा अन्य सैनिक सामग्रीसमेत उपलब्ध गराएको थियो । सेनाका पूर्वउपरथी जगदिशचन्द्र पोखरेलले भौगोलिक बनावट, खुला सिमाना, सामाजिक एवं सांस्कृतिक समानताका कारण नेपाल र भारतबीच जनस्तरसम्म विशेषखाले प्रगाढ सम्बन्ध रहेको बताए ।

उनले भने, “यस्तो अनुपम र विशिष्ट सम्बन्ध अरु कतै छैन, भए पनि कम छ, भारतीय र नेपाली सेनाबीच आपसी समन्वय र संयुक्त तालिम/अभ्यास हुँदैआएको छ । उनीहरु खासगरी जङ्गल र माउण्टेन वारफेर तथा स्टाफ कलेजको तालिमा आउँछन् ।”

प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले भेट गर्ने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण, सम्मान गारत निरीक्षण, प्रधानसेनापति शर्मासँग भेटवार्ता, सहयोग सामग्री हस्तान्तरण, कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तक्रियालगायतका कार्यक्रमा सहभागी हुने छन् ।

सेनाध्यक्ष पाण्डेको भ्रमणका क्रममा करिब २२ करोड ३८ लाख ३८ हजार रुपैयाँ मूल्य बराबरको तोप मर्मतसम्भारका पार्टपुर्जा, घोडा, सिमुलेटर, विस्फोटक पदार्थ प्रतिरोध सवारी साधन र घुम्ती अस्पतालका लागि आवश्यक उपकरणको सहयोग उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर