आगामी तीन वर्षमा मुलुक विद्युतमा पूर्ण रूपमा आत्मनिर्भर बन्छ : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्ण रूपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसद्मा जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीव्र रूपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्ण रूपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी हुन् । उनले चालु आर्थिक वर्षमा नेपालमा विद्युत आयातभन्दा विद्युत निर्यात बढी भई नेपाल खुद विद्युत निर्यातकर्ता देश बन्ने अवस्थामा पुगेको दाबी गरिन् ।

मन्त्री भुसालले नेपालले भारतको इनर्जी एक्सेन्ज बजारमार्र्फत ३६४ मेगावटसम्मको विद्युत खरिद बिक्री गर्ने गरेको बताइन् । उनले विद्युत प्राधिकरणले भारतमा निर्यात हुने विद्युत भारु ५ रुपैयाँ ७१ पैसा प्रति युनिटमा बेचिरहेको बताइन् ।

मन्त्री भुसालले विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा ३ अर्ब ८४ करोडको विद्युत निर्यात गरेको भन्दै चालु आर्थिक वर्षको अन्त्यसम्म १६ अर्बको विद्युत निर्यात हुने प्रक्षेपण गरिएको बताइन् । उनले चालु आर्थिक वर्षको साउन महिनामा १ अर्ब ८४ करोडको विद्युत निर्यात गरेको बताइन् । मन्त्री भुसालले विद्युत निर्यातले भारतसँगको व्यापार घाटा कम गर्ने र नेपालीको विदेशी मुद्रा सञ्चितिमा थप योगदान पुग्ने बताइन् ।

मन्त्री भुसालले नेपालले वार्षिक रूपमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न पाँच वर्षमात्रै बाँकी रहेको बताइन् । उनले अहिलेसम्म विद्युत खरिद बिक्री सम्झौता र विद्युत उत्पादनको अवस्था हेर्दा पाँच वर्षमा उक्त लक्ष्य पूरा गर्न कठिन रहेको बताइन् । उनले मुलुकमा विद्युत जडित क्षमता २ हजार २ सय मेगावाट पुगेको बताइन् ।

मन्त्री भुसालले गत आर्थिक वर्षमा ७ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको भन्दै चालु आर्थिक वर्षमा करिब ८ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्रक्षेपण गरिएको बताइन् । उनले जलाशययुक्त जलविद्युतको आयोजनामा निजी क्षेत्रको आकर्षण नदेखिएको बताइन् । मन्त्री भुसालले जलविद्युत उत्पादनलाई तीव्रता नदिने हो भने जलविद्युत उत्पादनको लक्ष्य पूरा गर्न नसकिने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर