अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल सुरु भएको छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल सुरु गरेको बताएका छन् ।

बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले नेपालमा एउटामात्र अन्तर्राष्ट्रिय हवाई बिन्दु भएका कारण एयर कनेक्टिभिटी सहज नभएकाले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल सुरु गरेको बताएका हुन् ।

उनले सरकारले महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा प्रवेशबिन्दु खुला गराउनका लागि भारतसँग छलफल सुरु गरेको बताए । मन्त्री श्रेष्ठले नेपालले सीमित आकाश प्रयोग गर्दा अन्तर्राष्ट्रिय हवाईबिन्दु एउटामात्र भएका कारण एयर कनेक्टिभिटी सहज हुन नसकेको बताए ।

उनले नेपालले अहिले ४० देशहरूसँग दुईतर्फी हवाई उडान सम्झौता गरिसकेको बताउँदै अब छिट्टै अमेरिका, रुसलगायतका देशमा सीधा उडान गर्ने तयारी सुरु गर्ने जानकारी दिए । उनले यसबाट नेपाललाई १२ महिना नै पर्यटकीय गन्तव्यस्थल बनाउन टेवा पुग्ने बताए । मन्त्री श्रेष्ठले पर्यटकहरू नेपाल घुम्नको लागि १२ महिना नै आउनसक्ने हावापानी र वातावरण रहेको बताए ।

पर्यटनमन्त्री श्रेष्ठले सरकार हवाई, जल, स्थल, रेल कनेक्टिभिटी सुदृढीकरणका लागि प्रतिबद्ध रहेको बताए । उनले कनेक्टिभिटी विकास गर्नको लागि लगानी भित्र्याउन र लगानी विस्तार गर्न सरकारले प्राथमिकता दिएको बताए ।

मन्त्री श्रेष्ठले कनेक्टिभिटीबिना विकासले गति लिन सहज नहुने बताए । उनले नेपालमा कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकासको लागि हवाई, जल, स्थल, रेल कनेक्टिभिटीको आवश्यकता रहेको बताए ।

मन्त्री श्रेष्ठले एउटामात्र मुलुकको पूर्वाधार विकासले विश्व आर्थिक रूपमा मजबुत हुन नसक्ने भन्दै रिजनल कनेक्टिभिटीलाई अगाडि बढाउन आवश्यक रहेको बताए । उनले क्षेत्रीयसँगै आन्तरिक कनेक्टिभिटीहरूको पनि उत्तिकै आवश्यकता रहेको बताए ।

मन्त्री श्रेष्ठले पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिमको खप्तड, मानसरोवर नियाल्न सकिने हुम्ला, रारा, फोक्सुण्डोलगायत गन्तव्यतर्फका सडकमार्ग तयार गर्न आवश्यक रहेको बताए । उनले यी क्षेत्रमा सडकमार्ग तथा भौतिक पूर्वाधारको विकास हुनसके पर्यटकहरू सहज रूपमा जानसक्ने अवस्था रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर