कांग्रेस गलाउन नेकपा सम्झिँदै प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)विरुद्धमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले असन्तुष्टि व्यक्त गरेका हुन् ।

अध्यक्ष दाहालभन्दा अगाडि मन्तव्य राखेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली काँग्रेससँग भाग मागेर उत्पीडित वर्ग र समुदायको मुक्ति नहुने टिप्पणी गरेका थिए । सोही टिप्पणीको जवाफ दिँदै अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई एक बनाउँदा फुटाउनका लागि अदालत गएको भन्दै कट्टेलप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले तत्कालीन नेकपा फुटाउन अदालत जानेले संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई गलत भन्न नहुने बताए । उनले कट्टेललाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? किन त्यो आदर्शमा लाग्नुभएन भन्ने प्रश्नसमेत गरे ।

अध्यक्ष दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको भए पनि हामलसम्म कार्यान्वयन नभएको बताए । उनले सो निर्णय कार्यान्वयनका लागि लडाईं गरिरहेको बताए ।

उनले वर्गयुद्ध जारी रहेको उल्लेख गरे । माओवादी केन्द्रप्रति नकारात्मक प्रहारहरू भइरहेको भन्दै उनले प्रतिक्रियावादीहरूको विरुद्धमा आफू संघर्षमा नै रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेकपा (माओवादी केन्द्र) सर्वहारा वर्गको मुक्ति र राष्ट्रिय स्वाधीनताको सम्बन्धमा गलत बाटोतिर गइरहेको टिप्पणी गरे । उनले उत्पीडित वर्ग, समुदायको मुक्ति र राष्ट्रिय स्वाधीनताको रक्षाको बाटो स्पष्ट नभएसम्म शहीदप्रति सम्मान नहुने बताए । नेपाली काँग्रेससँग भाग मागेर मुक्ति प्राप्त नहुने उनको भनाइ छ ।

उनले माओवादी केन्द्र गलत बाटोमा गइरहेको भन्दै सच्चिन आग्रहसमेत गरे । माओवादीले आफूलाई स्वमूल्यांकन गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर