नेपालकाे पाँच दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किए भारतीय सेनाध्यक्ष पाण्डे

भारतीय स्थल सेनाका अध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका छन्। सेनाध्यक्ष पाण्डे र उनकी  पत्नी अर्चना पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की र मनिषा कार्कीले बिदाइ गरेका छन्।

प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आइतबार नेपाल आएका सेनाध्यक्ष पाण्डेले नेपालको पाँच दिने भ्रमणमा नेपाली सेनाको मानार्थ महारथी पदवी लिनुका साथै उच्चस्तरीय भेटवार्ता, धार्मिक तथा पर्यटकीय स्थलको अवोलकन गरे ।

उनले २२ करोड रुपैयाँ बढीको सैन्य सामग्री नेपाली सेनालाई हस्तारण गरेका छन्।

भ्रमणको दोस्रो दिन सोमबार दिउँसो उनलाई नेपाली सेनाकी परामाधिपति रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी थिइन् । त्यस अवसरमा सेनाध्यक्ष पाण्डेलाई खड्ग र प्रमाणपत्र पनि प्रदान गरिएको थियो।

त्यसअघि उनले नेपाली सेनालाई सहुलियतपूर्ण रूपमा चार घोडासहित २२ करोड ३८ लाख रुपैयाँको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरे। विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णयानुसार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित विशेष समारोहबीच उनले ती सामग्री हस्तान्तरण गरेका हुन्।

समारोहमा उनले प्रधानसेनापति प्रभुराम शर्मालाई ती सामग्री उल्लेख भएको फाइल हस्तान्तरण गरेका थिए । निश्चित प्रतिशत नेपाली सेनाको समेत लगानी रहेका हातहतियारका पाटपुर्जा, १० वटा विस्फोटक पदार्थ नष्ट गर्ने कार्यमा प्रयोग हुने सवारी साधन (माइन प्रोटेक्टेड भेइकल) तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।

सोही दिन बिहान उनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका थिए। भेटमा दुई देशबीचको सैन्य सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो।

प्रधानसेनापति शर्मासँग भेट्नुअघि सेनाध्यक्ष पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका थिए। सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जंगी अड्डामा आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो।

सो अवसरमा उनले जंगी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे ।

त्यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।

तेस्रो दिन मंगलबार प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटघाट गरे। भ्रमण दलका सदस्य र काठमाडौंस्थित भारतीय राजदूतावासका उच्च अधिकारीसहित प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका जनरल पाण्डेसँग प्रधानमन्त्री देउवाले विविध विषयमा छलफल गरेका थिए।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जनरल पाण्डेले सोमबार बिहान माउण्टेन फ्लाइट गरेका थिए । त्यसपछि उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण सहित कलेजको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी हासिल लिएका थिए।
उनले कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गरेका थिए।

जनरल पाण्डेले चौथो दिन बुधबार बिहान मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरेर सोही दिन पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड मुख्यालयको भ्रमण गरे।

पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भारतीय सेनामा रहेका नेपाली भूतपूर्व सैनिकले दुई देशबीचको वर्षौंदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए।

सो अवसरमा उनले भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त गरेका सैनिकका परिवारजनलाई नगद चेक तथा सामग्री हस्तान्तरण गरे ।
साथै उनले दुर्गममा बस्ने भूतपूर्व सैनिकको स्वास्थ्योपचारलाई लक्षित गरी तीनव टा मोबाइल मेडिकल युनिटको चाबी हस्तान्तरण गरे।

बुधबार नै पाण्डेको सम्मानमा प्रधानसेनापति शर्माले जंगी अड्डामा रात्रिभोज आयोजना गरेका थिए ।

भारतीय सेनाध्यक्ष पाण्डेकाे याे भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

मानार्थ महारथीकाे इतिहास

नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम प्रचलन रहिआएको छ ।
२००७ मा भारतीय सेनाका फिल्ड मार्शल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिएको थियो ।
२०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलोपटक भारतीय सेनाको मानार्थ महारथी विभूषित गरिएको थियो।

अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाएका थिए ।

सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो ।
हालसम्म भारतका २२ र नेपाली सेनाका १७ जना सेनापतिले यस्तो सम्मान प्राप्त गरिसकेका छन् ।

दुवै सेनाबीच सहअस्तित्व र समानता छ

नेपाल र भारतबीचको विशिष्ट एवं बहुआयामिक सम्वन्धको परिप्रेक्ष्यमा दुवै देशका सेनाबीच आपसी सहअस्तित्व र समानतामा आधारित प्रचलनले समग्रमा नेपालको परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा प्रवर्द्धन तथा सामरिक प्रतिरक्षामा समेत योगदान पुग्ने सैनिक प्रवक्ता नारायण सिल्वालले बताए । उनले भने “मानार्थ महारथीबाट शुशोभन गर्ने परम्पराले दुई देशबीच सद्भाव र सौहार्दपूर्ण सम्बन्ध थप प्रगाढ तुल्याउन योगदान पुर्‍याउदै आएको छ ।”

नेपाल र भारत दुवै मुलुकले यस्तो सुशोभन कार्यक्रम राष्ट्रपति भवनमै आयोजना गर्ने परम्पराले सहअस्तित्व र समानताका आधारलाई पुष्ट्याइ गरेको छ । केही वर्षअघि भएको नाकाबन्दी खुलाउन सैनिक कूटनीतिमार्फत दुवै देशका सेनाको पहलमा ‘ब्रेक थ्रु’ भएको थियो । प्राकृतिक प्रकोप र भूकम्पका समयमा भारतीय सेनाबाट सक्रियाताका साथ खोज, उद्धार र राहतमा सहयोग प्राप्त हुँदै आएको छ।

नेपाली र भारतीय सेनाबीच सहकार्यका सिलसिलामा विगतदेखि नै एक–अर्का देशमा विभिन्न सेमिनार, तालिम र अभ्यास चल्दै आएको छ । नेपाली सेनाका अनुसार, भारतमा सञ्चालन भएका विभिन्न तालिममा सन् १९८९ देखि हालसम्म दुई हजार चार सय १७ अधिकृत र एक हजार तीन सय ७८ अन्य दर्जाको सहभागिता भइसकेको छ ।

मानार्थ प्रदान गर्ने अद्भूत प्रचलन

सेनाका पूर्वउपरथी हिमालय थापा दुवै देशका सेनाबीच सुमधुर, सद्भावपूर्ण, सुदृढ र प्रगाढ सम्बन्ध रहेको बताउँछ्न् । उनले भने, “सेनाको तालिम र अभ्यासका आधारमा सोच विचार र ‘ग्रुमिङ’को तरिका एकै खालको छ, सेनाको प्रशंसनीय र उत्कृष्ट काम, लगन र प्रतिबद्धताले एक–अर्का देशका सेनापतिलाई मानार्थ सम्मान प्रदान गर्ने अद्भूत प्रचलन रही आएको छ ।”

भारतीय सेनामा ठूलो सङ्ख्यामा नेपाली युवा कार्यरत रहनुले पनि दुई देशबीचको सम्बन्धलाई सरकार र जनस्तरमा समेत सुमधुर तुल्याउन विशिष्ट योगदान पुर्‍याएको छ । भारतीय सेनाले सन् २०१० देखि नेपाली सेनालाई हातहतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, हेलिकप्टर, मोटर र मेडिकल उपकरजस्ता सैनिक सामग्री केही सहयोग र केही ठूलो सहुलियत दरमा सामग्री उपलब्ध गराउँदै आएको छ । सेनाध्यक्ष पाण्डेले साेमबार नेपाली सेनालाई सहुलियतपूर्ण रूपमा चार घोडासहित २२ करोड ३८ लाख रुपैयाँको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरेका छन् ।

कोरोना सङ्क्रमणले आक्रान्त तुल्याएको समयमा भारतीय सेनाले आइसियु भेन्टिलेटर र अस्पतालका लागि आवश्यक मेडिकल सामग्री पनि सहयोग गरेको थियो । सन् २००३ पछि गठन भएको सुरक्षा मामिलासम्बन्धी नेपाल–भारत परामर्श समूहको बैठकमा भएका सहमतिअनुरुप भारतीयले ती सामग्री नेपाललाई उपलब्ध गराएको हो ।

उक्त बैठकको सुरुआत हुन अघि पनि भारतीय सेनाले हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, हवाई साधन, सवारी साधन, हलेमेट, बुलेटप्रुफ ज्याकेट तथा अन्य सैनिक सामग्रीसमेत उपलब्ध गराएको थियो । सेनाका पूर्वउपरथी जगदिशचन्द्र पोखरेलले भौगोलिक बनावट, खुला सिमाना, सामाजिक एवं सांस्कृतिक समानताका कारण नेपाल र भारतबीच जनस्तरसम्म विशेषखाले प्रगाढ सम्बन्ध रहेको बताए ।

उनले भने, “यस्तो अनुपम र विशिष्ट सम्बन्ध अरु कतै छैन, भए पनि कम छ, भारतीय र नेपाली सेनाबीच आपसी समन्वय र संयुक्त तालिम/अभ्यास हुँदैआएको छ । उनीहरु खासगरी जङ्गल र माउण्टेन वारफेर तथा स्टाफ कलेजको तालिमा आउँछन् ।”

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *