‘आमनिर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुनेछ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताएका छन् । निर्वाचित जनप्रतिनिधिहरूको एक कार्यकालले मुलुकमा राजनीतिक जग बसेको उल्लेख गर्दै उनले आसन्न निर्वाचन पछि मुलुकको ध्यान सम्पूर्ण रुपमा आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताएका हुन् ।

नेपाल उद्योग परिसंघद्वारा काठमाडौंमा आयोजित नेपाल पूर्वाधार सम्मेलन–२०२२ को समापन समारोहमा बोल्दै मन्त्री कार्कीले देश विकासको साझा लक्ष्यमा सरकारसँगै हातेमालो गरेर अघि बढन निजी क्षेत्रलाई पनि आह्वान गरे । निजी क्षेत्र र सरकारको साझा प्रयासमा मात्रै मुलुकलाई अघि बढाउन सकिने उनको भनाइ थियो ।

मन्त्री कार्कीले स्वदेशी तथा विदेशी लगानी भित्र्याई मुलुकको पूर्वाधार विकास गर्न नीतिगत, कानूनी र प्रक्रियागत सुधार गर्न सरकार तत्पर रहेको पनि बताए । पूर्वाधार विकास र उत्पादन वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिकालाई सहजीकरण र उत्प्रेरित गर्न सरकार आफ्ना उपकरणहरूको दक्षतापूर्ण उपयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले गुणस्तरीय पूर्वाधार निर्माणमा ध्यान दिन निजी क्षेत्रलाई आग्रह गरे ।

मन्त्री कार्कीले मुलुकको पूर्वाधार विकासका लागि निजी क्षेत्रको लगानी सबैभन्दा महत्त्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर