भारतले नेपालबाट ७ सय रुपैयाँमा किनेको अलैंची १७ सयमा बेच्छ : पवन गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरूलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिबद्धता जनाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन, २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले नेपाली कृषिजन्य उत्पादनहरू भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको भन्दै नेपाल आफैँले ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्न सक्नुपर्ने बताए । अध्यक्ष गोल्यानले भारतले नेपाली अलैंची ७ सयमा नेपालबाट आयात गरेर खाडी मुलुकहरूमा भारु १७ सय रुपैयाँमा निर्यात गर्ने गरेको बताए । उनले नेपाली युवाहरूले नेपाली उत्पादनलाई प्याकिङ गरेर विदेशी निर्यात गर्ने सोचमा भए सिविफिनले आर्थिक सहयोग गर्नसक्ने बताए ।

अध्यक्ष गोल्यानले युवाहरू भविष्य नभएर वर्तमान भएकाले नेपाललाई परिर्वतन गर्न युवाले सक्रिय भूमिका खेल्नुपर्ने बताए । उनले युवाले प्रयोग गर्ने हरेक वस्तुमा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए ।

अध्यक्ष गोल्यानले हरेक नेपालीले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नसके तरकारीमा नेपाल तीन महिनामा आत्मनिर्भर बन्नसक्ने दाबी गरे । उनले सरकारले तरकारी तथा फलफूलमा आत्मनिर्भर बन्नेगरी नीतिगत काम गर्न भने नसकेको गुनासो गरे ।

अध्यक्ष गोल्यानले नेपाली भएर नेपाली खान र लगाउन सक्यो भने नेपाली उद्योग र किसानलाई राहत हुने बताए । उनले नेपालमा अहिले ४ खर्बको कृषिजन्य वस्तुहरूको आयात भइरहेको भन्दै नेपालमा २ खर्बको नेपालभित्र कृषिजन्य वस्तु उत्पादन गर्न समस्या नरहेको दाबी गरे ।

अध्यक्ष गोल्यानले नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुनको लागि हरेक नेपालीले नेपाली उत्पादनलाई प्राथमिकता दिएर नेपाली उत्पादन लगाउन र खान आवश्यक रहेको बताए । उनले अब सबै नेपालीले ‘नेपाली लगाऔं, नेपाली खाऔं’ अभियान चलाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर