कतारको विकास निर्माणमा नेपालको ठूलो योगदान छ : राजदूत युसुफ

कतार च्यारिटीको सहयोगमा काठमाडौंको बूढानीलकण्ठमा निर्मित समाजकल्याण परिषद्को व्यावसायिक तालिम केन्द्र भवनको उद्घाटन गरिएको छ ।

नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हैलको उपस्थितिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं समाजकल्याण परिषद्की अध्यक्ष उमा रेग्मीले सो भवनको उद्घाटन गरेकी हुन् ।

मन्त्री रेग्मीले कतार च्यारिटीको सहयोगमा निर्माण भएको यस व्यावसायिक तालिम केन्द्रमा नितान्त सीपमूलक तालिम सञ्चाल हुने र युवाहरूलाई स्वरोजगार सिर्जना गराउने बताइन् । उनले सो सहयोगको लागि कतार च्यारिटीलाई धन्यवाद दिँदै आगामी दिनहरूमा समाजमा सकारात्मक परिवर्तन गर्न कतार च्यारिटीले यस्तै खालका थप कार्यक्रमबाट योगदान पुर्‍याउने आशा व्यक्त गरिन् ।

समारोहमा समाजकल्याण परिषद्का सदस्य सचिव मनोज भट्ट, विभागीय प्रमुखहरू प्रल्हादबाबु पन्त, भगवती संग्रौला, संजय मल्लिक तथा कतार च्यारिटीका कार्यकारी निर्देशक इर्शाद अलि शेख, बूढानीलकण्ठ नगरपालिकका जनप्रतिनिधिसहित विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका विशिष्ट कतारी राजदूतले कतारको विकास निर्माणमा नेपालको ठूलो योगदान रहेको चर्चा गर्दै नेपाललाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । उनले आगामी दिनहरूमा थप सहयोग गर्ने प्रतिबद्धतासमेत गरेका छन् ।

व्यावसायिक सीप विकासबाट युवाहरूमा प्रत्यक्ष फाइदा पुगोस् भन्ने उद्देश्यले निर्मित यस भवनले सर्थकता पाउनेमा कतार च्यारिटीका कार्यकारी निर्देशक शेखले कतार च्यारिटी आशावादी रहेको बताए ।

व्यावसायिक तालिम केन्द्रको भवन उद्घाटन तथा हस्तान्तरण समारोहकै मौका पारेर यस क्षेत्रका महिला दिदीबहिनीहरूमा टेलरिङ बिजनेशको लागि ३ महिने सिलाइ कटाइ तालिमको पनि उद्घाटन गरिएको छ जसअन्तर्गत तालिममा उत्कृष्ट दिदीबहिनीहरूले तालिम सकिएपछि सिलाइ मेसिनसहित अन्य आवश्यक उपकरण पनि साथमा पाउने छन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समाजकल्याण परिषद्का सदस्य सचिव भट्टले व्यावसायिक तालिम केन्द्र भवन निर्माण गरेर सहयोग पुर्‍याएकोमा कतार च्यारिटीलाई धन्यवाद दिँदै उक्त भवन व्यावसायिक तालिम सञ्चालन गर्न प्रयोग हुने बताए ।

उनले कतार च्यारिटीले सामाजिक मूल्यमान्यता र आपसी सद्भावलाई सुदृढ पार्दै विपन्न परिवार तथा आर्थिक, सामाजिक र शैक्षिक रूपले पिछडिएको समुदायको गुणस्तरिय जीवनका लागि गरेका कार्यक्रमहरू प्रशंसनीय रहेको बताए ।

बूढानीलकण्ठस्थित भूकम्पले क्षति पुर्‍याएको समाजकल्याण परिषद्को यस तालिम केन्द्र १ करोड १७ लाख ८३ हजार ६ सय १९ रुपैयाँको लागतमा बनेको हो । क्षेत्रफल ४ हजार ८ सय १६ वर्ग फिट रहेको भवनमा ४ वटा तालिम कोठा, २ वटा अफिस कोठा, १ वटा सेमिनार हल, १ वटा किचन साथै ८ वटा शौचालय रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर