एआईजी दरबन्दी थपेर सीमा सुरक्षा म्याण्डेट पाएको सशस्त्रमा फेरि ब्युँतियो सीमा विभाग

सशस्त्र प्रहरी बल, नेपालको स्थापना देशमा द्वन्द्वको चरमोत्कर्षका समयमा भए पनि यसको मुख्य म्याण्डेट भनेको सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा रोकथाम र विपद् व्यवस्थापन हो । तर, प्रमुख म्याण्डेट नै सीमा सुरक्षा भएको सशस्त्र प्रहरीमा त्यही विभाग केही वर्षअघि हटाएर कार्य विभागमा गाभियो ।

सशस्त्रमा सीमा विभाग नहुँदा यसको प्रभावकारी कार्यान्वयन प्रभावित भइरहेका समयमा सरकारले एक जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गरेर पुरानै संरचना कायम गरेको छ ।

सरकारले २१ भदौको मन्त्रिपरिषद् बैठकबाट एउटा एआईजी दरबन्दी थप गरेको हो । योसँगै नयाँ संगठनात्मक स्वरूप निर्धारण (ओ एण्ड एम)अनुसार कार्य तथा सीमा विभाग फुटाइएको छ । जसअनुसार सीमा विभागमा बढुवा हुने एआईजीले कमाण्ड गर्नेछन् ।

सरकारको यो निर्णयसँगै सशस्त्रमा मानव स्रोतसँगै एआईजीको दरबन्दीसहित प्रशासन विभाग र सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठानमा समेत एआईजी राख्ने विषयमा छलफल सुरु भएको छ ।

‘सशस्त्र प्रहरी बललाई म्याण्डेटअनुसार अघि बढाउन, वृत्ति विकास र प्रभावकारी कार्य सञ्चालनका लागि माथिल्लो पदमा दबरन्दी थप र उपसमूह खारेज गर्ने विषयमा छलफल भइरहेको छ,’ गृह उच्च स्रोतले भन्यो, ‘अन्तर्राष्ट्रिय समन्वयदेखि सीमा कूटनीतिमा सशस्त्रको प्रभावकारिता देखिएन भन्ने बालुवाटारको बुझाइ हो ।’ ती अधिकारीले अगामी निर्वाचनपछि गठबन्धनकै सरकार बनेमा सशस्त्रको ओ एण्ड एममा व्यापक फेरबदल हुनेछ ।

एकेडेमीमा एआईजी

स्टाफ कलेज पढाइने सशस्त्रको प्रशिक्षण प्रतिष्ठानमा हाल डीआईजीको दरबन्दी रहेको छ । आफूमातहत देशभर रहेका ११ वटा तालिम केन्द्र रहेको प्रक्षिक्षण प्रतिष्ठानमा एआईजी राख्ने विषय धेरै पहिलाबाट उठे पनि पूरा हुन सकेको छैन ।

सशस्त्र प्रहरीका ११ तालिम केन्द्रमध्ये हाल पाँच वटामा एसएसपी र बाँकी ६ वटामा एसपी कमाण्डर रहेका छन् ।

डीआईजी दाहाललाई बढुुवाको तयारी

सरकारले सशस्त्र प्रहरी बलमा थप गरेको एआईजीमा वरिष्ठताका आधारमा एक नम्बरमा रहेका डीआईजी वंशिधर दाहाललाई बढुवा गर्ने तयारी गरेको छ । उनलाई पुरानै कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाको तयारी भइरहेको हो ।

‘केही दिनमै प्रक्रिया पूरा गरेर उहाँको बढुवा हुन्छ, निर्वाचन सुरक्षाका लागि पनि सीमा विभागलाई तत्काल कार्यन्वयनमा ल्याउन आवश्यक देखियो,’ गृह स्रोतले भन्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर