प्रदेश १ सरकारले आठौं संविधान दिवस वृक्षरोपण गरेर मनाउने

आठौं संविधान दिवस प्रदेश १ सरकारले प्रदेशभरिका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षरोपण तथा दीपावलीलगायतका कार्यक्रम गरी भव्यताका साथ मनाउने भएको छ । बुधबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको संविधान दिवस मनाउने तयारी सन्दर्भको छलफलमा तीन दिनसम्म विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको हो ।

जसअनुसार असोज २ गते प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूले राष्ट्रिय झण्डाका साथै दिवस केन्द्रित ब्यानर सजाई कार्यालय परिसरको सरसफाइ र साँझ दीपावली गर्ने निर्णय भएको छ।

यस्तै ३ गते विराटनगरको रानीदेखि बरगाछीसम्मको क्षेत्रमा रहेको सडकको बीच भागमा वृहत् वृक्षरोपण कार्यक्रमको आयोजना गरिने छ ।

यस्तै सोही दिन प्रदेशवासी आमनागरिकलाई आ–आफ्नो घरटोल र महत्त्वपूर्ण सार्वजनिक स्थलहरूको सरसफाइका साथै घरघरमा दीपावली गर्न आह्वान गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव गणेश नायकले जानकारी दिए । यस्तै ४ गते दीपावली गरेर दिवस मनाइने छ ।

२०७२ मा नेपालको संविधान जारी भएपछि सरकारले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउँदै आएको छ । विभिन्न प्रभातफेरी तथा गोष्ठीमा सीमित हुने दिवसलाई यो वर्ष फरक ढंगले वृक्षरोपण गरी मनाउने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताए ।

‘सडकको सौन्दर्यीकरण र हरियाली बनाउनका साथै जलवायु परिवर्तनको सम्भावित जोखिमलाई कम गर्न वृक्षरोपण कार्यक्रमको आयोजना गरिने भएको हो,’ उनले भने ।

वृक्षरोपण कार्यक्रममा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल स्काउटका प्रतिनिधि तथा हामी स्वयंसेवी अभियानका विद्यार्थीहरूको सहभागिता रहने मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर