ठमेलकाे मनि एक्सचेन्ज सञ्चालक लुटपाट प्रकरण : तीन जना पक्राउ

काठमाडौंको ठमेलस्थित ओरिएन्टेल मनि एक्सचेन्जका सञ्चालक प्रकाश श्रेष्ठलाई लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

गत बुधबार राति ७ः१० बजे तीन वटा मोटरसाइकलमा सवार पाँच जना पुरुषहरूको अपरिचित समूहले श्रेष्ठबाट ३० लाख रुपैयाँ बढी रकम लुटेको थियो ।  सो घटनामा संलग्न रहेको अभियोगमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ घर भई भक्तपुरको लोकन्थली बस्ने २९ वर्षका योगेन्द्र तामाङ, सिन्धुलीको मरिन गाउँपालिका–३ घर भई काठमाडौंको कपन बस्ने ३० वर्षका देव लामा र रामेछापको सुनापाती गाउँपालिका–१ घर भई कपनमै बस्ने २० वर्षका मीनबहादुर तितङ (रोहित) पक्राउ परेका हुन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराधन अनुसन्धान कार्यालयको विशेष अनुसन्धान टोलीले तीन जनालाई घटनामा प्रयोग भएको मोटसाइकलसहित बुधबार कपनबाट पक्राउ गरेको हो।

मनि एक्सचेन्ज बन्द गरी कोठा जाने क्रममा म्हैपी पानी ट्याङ्की नजिकै पुग्दा ३ वटा मोटरसाइकलमा आएका ५ जना अपरिचित व्यक्तिहरूले आफूहरू प्रहरी भएको बताई जबरजस्ती मोटरसाइकलमा राखेर म्हैपी, सोह्रखुट्टे, खुसिबु हुँदै शोभा भगवतीको पुल मुनिबाट डल्लु पु¥याइ हातपातसमेत गरेर आफूसँग भएको नगद लुटपाट गरेको श्रेष्ठले प्रहरीलाई दिएको निवेदनमा उल्लेख गरेका छन् ।

श्रेष्ठले सो समूहले आफूसँग भएको नगद ३० लाख २३ हजार २ सय ८ रुपैयाँ, आईफोन मोबाइल, लाइसेन्स र ब्लु बुकसमेत रहेको झोला लुटेर फरार भएको प्रहरीलाई निवेदनमा बताएका छन्।

घटनामा संलग्न अन्य दुई जना अझै फरार छन्। पक्राउ परेका तीन जनालाई अपहरण तथा डाँका चोरी कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि बिहीबार प्रहरी परिसर, टेकु पठाइएको र अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर