अछाम पहिरो अपडेट : मृतक संख्या १७ पुग्यो, ७ अझै बेपत्ता, घाइते ११ काे हेलिकप्टरबाट उद्धार

अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १७ पुगेको छ।

लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ। यस्तै छ जना बेपत्ता छन्।

उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको छ।

हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ।

प्रशासन कार्यालयकाअनुसार उक्त वडामा तीन जना पहिरामा परी बेपत्ता छन्। निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका–६ मा एक जनाको शव भेटिएको छ भने एक बेपत्ता छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरामा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको बताए।

‘यकिन विवरण आइसकेको छैन। मृतकको सङ्ख्या बढ्न सक्छ,’ उनले भने, ‘अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ।’

त्यस्तै सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त मार्ग अवरुद्ध छ। अछाममा सञ्चार सेवासमेत अवरुद्ध छ। लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुर सयौं परिवार डुबानका कारण विस्थापित भएका छन्। वर्षापछि कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीको बाढी बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर