ओलीको आरोप- नागरिकता विधेयकलाई सत्तारूढ दलहरूले राजनीतिक फाइदाको विषय बनाए

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गराउने आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष ओलीले निर्वाचनको यो बेला सत्तापक्षबाट लतारिएर नचल्न पनि निर्वाचन आयोगलाई सजग गराए । शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले निर्वाचनलाई प्रभावित हुनेगरी निर्वाचन आयोगलाई हस्तक्षेप गर्ने कुनै पनि खालको काम नगर्न सरकारलाई समेत चेतावनी दिए ।

निर्वाचन आयोगमाथि हस्तक्षेपकारी भूमिका खेल्ने र निर्वाचनलाई अस्वस्थ ढंगले प्रभावित गर्ने भूमिका सरकारले खेल्नु मुनासिव हुँदैन, पाउँदैन भन्दै अध्यक्ष ओलीले आफूले त्यतापट्टि सरकारलाई सचेत गराउन चाहेको बताए । उनले स्थानीय तहको निर्वाचनमा सरकारले राज्य स्रोतको चरम दुरुपयोग गरेर निर्वाचनलाई प्रभावित पार्ने काम गरेको उल्लेख गर्दै त्यस्ता खालका लोकतान्त्रिक पद्धति, प्रणाली र जनअपेक्षाविपरीतका काम गर्न नहुने पनि बताए ।

अध्यक्ष ओलीले निर्वाचनमा जाने कामलाई सत्तारूढ दलहरूले प्रतिगमन भन्ने गरेकोमा आपत्ति जनाए । निर्वाचन कहिल्यै पनि प्रतिगमन नहुने उनको तर्क थियो ।

ओलीले प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाललाई सफल रहेको टिप्पणीसमेत गरे । संविधानको कार्यान्वयनका लागि कानून निर्माण गर्ने, संरचना निर्माण गर्नेलगायतका तमाम कामहरू गर्ने र शान्ति सुव्यवस्था, सुशासनदेखि लिएर विकासका चौतर्फी प्रयासहरूलाई, सामाजिक न्याय र समानता क्षेत्रका प्रयासहरूलाई, त्यसै गरेर अन्य सम्बन्धमा प्रयासहरूलाई अगाडि बढाउने काम गरेकाले संसद्को यो कार्यकाल सफल रहेको ओलीको भनाइ थियो ।

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नक्सा जारी गर्ने आफू नेतृत्वको सरकारको कामप्रति संकेत गर्दै राष्ट्रियताको सन्दर्भमा यो संसद्ले गरेको काम इतिहासमा कहिल्यै नमेटिने खालको रहेको बताए ।

अध्यक्ष ओलीले नागरिकता विधेयकलाई सत्तारूढ दलहरूले आफ्नो राजनीतिक फाइदाको विषय मात्रै बनाएको आरोप लगाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर