एक संघर्षशील नारीकाे कथा : जसलाई कृषिले करोडपति बनायो

कास्कीको लेखनाथस्थित अर्घौं चोकमा भैंसीपालन, तरकारी खेती र बाख्रापालनबाट मासिक डेढ लाख मुनाफा गर्छिन् म्याग्दीकी ४५ वर्षीया शिवमाया शेरपूर्जा । छोराछोरी बोर्डिङ पढाउनकै लागि म्याग्दीबाट वि.सं. २०६३ मा पोखरा झरेकी उनलाई कृषि पेशाले छोटो समयमै करोडपति बनाइदिएको हो । वि.सं. २०७१ मा लेखनाथको अर्र्घौं चोकमा १७ रोपनी जग्गा भाडामा लिएर केही हजार रकमबाट सुरु भएको शेरपूर्जाको कृषि फार्मको पुँजी अहिले करिब तीन करोड रुपैयाँ पुगेको छ ।

उनले सुरुमा दिदीबहिनी कृषि फार्म सञ्चालनमा ल्याएर तरकारी खेतीबाट आफ्नो पेशा अगाडि बढाएकी थिइन् । नौ वर्षकै अवधिमा अहिले शेरपूर्जाको फार्ममा १८ लैना भैंसी, एउटा राँगो, चार लैना गाई, १५ पाडा–पाडी, चार बाच्छा–बाच्छी छन् । पन्ध्र रोपनी जमिनमा शेरपूर्जाले भैंसीका लागि थप ११ रोपनी जमिनमा घाँसखेतीसमेत गरेकी छन् ।

रासससँगको कुराकानीमा उनले भनिन्, ‘दूध तथा तरकारी बिक्रीबाट मासिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ, खर्च कटाएर मासिक डेढ लाख रुपैयाँ बचत हुन्छ । उत्पादित तरकारीले बिस्तारै बजार लिन थालेपछि गोबरका लागि भैंसीपालन गर्ने सोच बनाउँदा यसमा समेत मेरो आकर्षण बढ्यो ।’

तरकारी खेती गर्ने क्रममा एक ट्याक्टर मलका लागि सात हजार रुपैयाँ बुझाउँदा शेरपूर्जाको मन खिन्न भयो र सोच्न थालिन्– गोबरका लागि भए पनि अब एउटा भैंसी पाल्नुपर्छ । तरकारी खेती सुरु गरेको तीन वर्षपछि वि.सं. २०७३ मा उनले भैंसीपालन गर्ने सोच बनाइन् । शेरपूर्जासँग भैंसी किन्ने पैसा थिएन । भैंसी किनेपछि दूध पनि बिक्री गर्न पाइने तरकारी उत्पादनका लागि गोबर पनि हुने भएकाले ऋण गरेरै भए पनि तराईबाट एउटा लैनो जर्सी भैंसी किनेर ल्याइन् । मेहेनत गर्दै अगाडि बढेकी शेरपूर्जा अहिले गाउँकै नमुना महिला कृषि उद्यमी बनेकी छन् । दुई वर्ष अगाडिदेखि उनले बाख्रापालनसमेत सुरु गरेकी छन् ।

त्यतिबेला शेरपूर्जाका श्रीमान् रोजगारीका लागि खाडी मुलुकमा थिए । श्रीमानको कमाइले कोठामा बसेर खान र छोराछोरी बोर्डिङ पढाउन कठिन भइरहेकाले छोराछोरीको पढाइ खर्च जुटाउन र बिहान–बेलुका हातमुख जोड्नका लागि मैले पनि केही गर्नुपर्छ भन्ने हुटहुटी जाग्न थाल्यो ।

पोखरा–२७ को लेखनाथस्थित खराने फाँटमा बस्ने क्रममा उनले वि.सं. २०७१ मा पोखरा–२७ कै लेखनाथस्थित अर्घौंमा १७ रोपनी जग्गा भाडामा लिएर दिदी–बहिनी कृषि फार्म सञ्चालनमा ल्याइन् । फार्ममा गोलभेँडा, काँक्रा, घिरौंला, करेला, साग, काउली, बन्दालगायत तरकारी उत्पादन हुन थाल्यो ।

दुई–तीन महिला उनको तरकारी फार्ममा काम गर्छन् । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म शेरपूर्जा बारीमै खटिन्छिन् । किनेको एउटा भैैंसीको दूध पनि फार्मबाटै बिक्री हुन थाल्यो, मूल्य राम्रै पाएपछि त्यो भैंसी खरिद गरेको दुई वर्षपछि उनले २०७५ मा भैंसी थप्ने योजना बनाइन् । तरकारी खेती बिस्तारै अगाडि बढ्दै थियो भैंसी पनि थपेर आम्दानी वृद्धि गर्ने योजना थियो शेरपूर्जाको तर पैसा थिएन ।

भैंसी खरिदका लागि ऋण लिन विभिन्न बैंक चहार्ने क्रममा बंगलादेश बैंकले ऋण दिने भयो उनलाई । भैंसी खरिद र तरकारी खेती विस्तार गर्नका लागि शेरपूर्जालाई उक्त बैंकले ५० लाख रुपैयाँ दिने निर्णय गर्‍याे । बैंकबाट लिएको पैसामध्ये ३० लाख रुपैयाँ भैंसी खरिद र २० लाख रुपैयाँ तरकारीको टनेल बनाउन प्रयोग गरिन् उनले । शेरपूर्जाले ऋण लिएको चार वर्षमै ऋण घटाएर १० लाख रुपैयाँमा पुर्‍याएकी थिइन् ।

छोराछोरी पढाउन र खान पुगेको छ, श्रीमान् पनि विदेशबाट आएर पोखरा–२७ मा नै किराना पसल गरेका छन् । अब विस्तारै बाख्राबाट पनि आम्दानी हुन्छ । भैंसीको दूध फार्मबाट प्रतिलिटर एक सय २० रुपैयाँमा बिक्री हुने गरेको र केही दूध डेरीले बिक्रीका लागि लाने गरेको उनी बताउँछिन् ।

‘अहिले मेरो फार्मको पुँजीको मूल्यांकन तीन करोड रुपैयाँ गरिएको छ । सत्र रोपनी जमिनबाट बढाएर उनले अहिले २९ रोपनी जग्गा भाडामा लिएकी छन् । १७ रोपनीमा भैंसी, तरकारी र बाख्रा फार्म छ भने ११ रोपनीमा भैंसीका लागि घाँस उत्पादन गरेकी छु । कृषि पेशाबाटै छोरोले इन्जिनियर र छोरीले नर्स विषय पढे,’ शेरपूर्जा भन्छिन्, ‘लेखनाथमा आफ्नै एउटा घर पनि छ ।’

कृषि कार्यालयले केही मात्रामा आर्थिक अनुदान दिएको छ । भैंसीपालन र तरकारी खेतीको तालिम पनि उनले लिएकी छन् ।

-ऋषिराम बराल/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर