प्रादेशिक अस्पताललाई स्तरोन्नति गरेर दुई सय बेडको बनाउने प्रदेश १ सरकारको निर्णय

झापाको भद्रपुरस्थित प्रदेश नं. १ को प्रादेशिक अस्पतालको स्नरोन्नति गरी दुई सय बेडको बनाइने भएको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले भोजपुर जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० बेडको बनाउने निर्णय पनि गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठकले स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको प्रस्तावका आधारमा ती दुई अस्पतालको स्तारोन्नति गर्ने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत नेपाल सरकारको असोज ५ गतेको निर्णय प्रचलित कानूनसमेतको दायराभित्र रही कार्यान्वयन गर्न प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

उक्त निर्णयअनुसार धनकुटाको भेडेटारमा बन्न लागेको स्वाइवाकका लागि आवश्यक जग्गा सट्टापट्टा गर्ने जिम्मेवारी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई हुनेछ । बैठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयद्वारा प्रस्तुत प्रदेश खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा प्रस्तुत प्रदेश नं. १ अन्तर्गतका १४ जिल्लाको प्रमुख उत्पादनको ब्राण्डिङ गर्ने र प्रदेश नं. १ को पर्यटन लोगो स्वीकृत गर्नेसहित पर्यटकीय गन्तव्य स्थल तोक्ने विषयलाई मन्त्रीस्तरीय समितिको छलफलमा लैजाने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री घिमिरेले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.