नेपाली सेनाका प्रशिक्षक र खेलाडी नागरिक-सैनिक सम्बन्ध विस्तारको महत्त्वपूर्ण सेतु : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीहरू नागरिक–सैनिक सम्बन्ध विस्तारको महत्तवपूर्ण सेतुका रूपमा स्थापित रहेको बताएका छन्।

शुक्रबार २८ असोजदेखि ३ कात्तिकसम्म पोखरामा सञ्चालन हुन गइरहेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगितमा सहभागी हुने नेपाली सेना, त्रिभुवन आर्मी क्लबमा अबद्ध प्रशिक्षक तथा खेलाडीहरूलाई सम्बोधन गर्दै उनले सो कुरा भनेका हुन्।

त्रिभुवन आर्मी अफिसर्स क्लबमको सभामण्डपमा आयोजित कार्यक्रममा बोल्दै प्रधानसेनापति शर्माले खेलकुदका माध्यमबाट समग्र नेपाली सेनाको प्रतिनिधित्व गर्दै नियमित रूपमा आम नागरिकहरूसँग सम्पर्कमा रहने सम्पूर्ण नेपाली सेनाका प्रशिक्षक तथा खेलाडीहरू नागरिक–सैनिक सम्बन्ध विस्तारको महत्त्वपूर्ण सेतुका रूपमा स्थापित रहेको बताएका हुन्।

उनले सम्पूर्ण खेलाडीहरूलाई आसन्न राष्ट्रिय खेलकुदका क्रममा जुनसुकै प्रतिस्पर्धामा सहभागी हुँदा पनि सबैभन्दा पहिला म नेपाली सेनाको सदस्य हुँ र त्यसपछि मात्र खेलाडी हुँ भन्ने कुरालाई आत्मसात गर्दै नेपाली सेनाको मर्यादित र अनुशासित सदस्यको उदाहरणका रूपमा प्रस्तुत हुनसमेत निर्देशन दिए।

प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाको सदस्यका रुपमा खेलकुद क्षेत्रमा आबद्ध भई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा नेपाल तथा नेपाली सेनाको छविलाई अभिवृद्धि गर्न योगदान दिने प्रशिक्षक एवं खेलाडीहरूलाई धन्यवाद व्यक्त गरे।

नेपाली सेनाका रथी, अधिकृत, पदिक, प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रधानसेनापति शर्माले नेपाली सेनामा खेलकुदको विकासका लागि व्यवस्था गरिएको दश करोड रुपैयाँको अक्षयकोषले आगामी दिनमा खेलाडीहरूको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

उनले ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’मा आफूलाई प्राप्त प्रशिक्षणलाई मनन गरी, आफ्नो क्षमता प्रदर्शन गरी बढीभन्दा बढी स्वर्ण पदक प्राप्त गर्दै पुनः त्रिभुवन आर्मी क्लबलाई टिम च्याम्पियन बनाउन सम्पूर्ण प्रशिक्षक तथा खेलाडीहरूलाई शुभकामना दिएका थिए।

उक्त कार्यक्रममा ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफीसमेत प्रदर्शनी गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर