दशैंमा पनि व्यापार नहुँदा न्यूरोडका व्यापारी निराश

दशैंको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्यूरोडका व्यापारीहरू चिन्तित बनेका छन् । काठमाडौंको असन, न्यूरोडका व्यपारीहरू दशैंको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् ।

नेपालीहरूको महान चाड बडादशैंको समयमा गत वर्षमा ग्राहकहरूको ठेलमठेल हुने असन र न्यूरोड बजार अहिले शून्यप्रायः छन् । केही चहलपहल त छ तर सोचेअनुसारको चहलपहल भने हुन नसकेको व्यापारीहरू बताउँछन् ।

गत वर्षहरूमा न्यूरोड क्षेत्रमा हिँड्नेसमेत ठाउँ नहुने गरेर मानिसहरू किनमेलका लागि आउने गरे पनि यस वर्ष भने कम मात्रै आइरहेको उनीहरूले बताए । कोरोना महामारीपछि व्यापार व्यवासायहरू राम्रोसँग फस्टाउन सकेको छैन । साथै नेपालीहरूले पनि आफ्नो महान् चाड कोरोनाकै कारण राम्रोसँग मनाउन सकेका छैनन् ।

यस वर्ष कोरोना महामारीको असर कम रहे पनि डेंगुका संक्रमणका कारण पुनः दैनिक जनजीवन अस्तव्यस्त बनेको छ । चाडबाड नजिकिँदै गरिरहेको अवस्थामा देशभर डेंगुका बिरामीहरू दिनप्रतिदित बढिरहेका छन् । जसका कारण पनि आम मानिसहरू बजारमा त्यत्ति देखिँदैनन् ।

साथै चाडबाडमा नयाँ लुगा, नयाँ परिकार खानका लागि पनि अनलाइनबाट नै होम डेलिभरी हुनाले भौतिक रूपमा नै उपस्थित भएर सामान किनबेच गर्नेको संख्या कम हुँदै गएको सहजै आकलन गर्न सकिन्छ ।

कोरोनाका कारण आम मानिसको आर्थिक अवस्था पनि कमजोर भएकाले बजारमा ग्राहकहरूको चहलपहल कम भएको हुनसक्ने बताउँछन् न्यूरोडस्थित कपडा पसलका व्यापारी दिनेश साही । उनले विगतका वर्षहरूको तुलनामा यस वर्ष कम व्यापार भएको बताए ।

त्यस्तै न्युरोडमा नै जुत्ता, चप्पल व्यापार गर्दै आएका उद्धव ढुंगेलको पनि भनाइ फरक छैन । सोचेअनुसारको व्यापार नहुँदा पसल भाडा तिर्न पनि हम्मेहम्मे परेको उनले बताए । उनले विगतका वर्षहरूमा हिँड्ने बाटो नहुने न्यूरोडमा यसपटक भने खुला भइरहेको अनुभव गरेको बताए । दशैं नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याएको तर ग्राहक नआउँदा आफूहरू अहिले समस्यामा परेको उनले बताए ।

कोरोना भाइरस र बढ्दो डेंगुका कारण पनि नागरिकहरू घरभित्रै भएकाले दशैंको सामान किन्न खासै बजार निस्किएका छैनन् । ग्राहकलाई आकर्षण गर्न व्यापारीले विभिन्न सामानमा छुटको व्यवस्था गरे पनि त्यसमा ग्राहकको आकर्षण कम देखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर