ऋणले थलिँदै खोटाङका लघु जलविद्युत् आयोजना

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् । स्थानीय बासिन्दाले चन्दा संकलन गरेर २०७० भदौ १ गते सञ्चालनमा ल्याएको यस लघु जलविद्युत् आयोजनाको अहिले १४ लाख रुपैयाँभन्दा बढी ऋण रहेको उपभोक्ता समितिले जनाएको छ ।

करिब दुई करोड रुपैयाँ लागतमा सञ्चालन गरिएको लघु जलविद्युत् आयोजनाका लागि ऋण लिइएको नौ लाख रुपैयाँ अझै फिर्ता गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष अग्निप्रसाद राईले बताए । “एक घर उपभोक्ताबाट प्रति महिना १०० रुपैयाँका दरले सेवा शुल्क लिने निर्णय गरेका थियौँ”, उनले भने, “समितिले तोकेको सेवा शुल्क उपभोक्ताले नबुझाउँदा अहिले आर्थिक संकट भएको छ । उपभोक्ताबाट सेवा शुल्क नउठेपछि आयोजना नै संकटमा परेको छ ।”

नाखामखोला लघु जलविद्युत् आयोजनामा अहिले तीन जना प्राविधिक कर्मचारी कार्यरत रहेका र उनीहरूलाई मासिक तलब दिनसमेत समस्या भएको उपभोक्ता समितिले जनाएको छ । प्राविधिक कर्मचारीका लागि मासिक तलबबापत छ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको अध्यक्ष राईले जानकारी दिए ।

सुरुमा सबै उपभोक्ताको उल्लासमय सहभागितामा जलविद्युत् आयोजना सञ्चालनमा ल्याइए पनि पछिल्लो समय हेल्चेक्य्राइँले समस्या भएको देखिएको वडाध्यक्ष मुगाधन राईले बताए । “अहिलेको अवस्था हेर्दा लामो समय सञ्चालन गर्न सकिने अवस्था छैन”, उनले भने, “सामूहिक रूपमा सञ्चालन गरिएको आयोजना भएकाले एक जना व्यक्तिको निर्णयले चलाउने कुरा भएन । आर्थिक संकट दिनानुदिन बढ्दै गएपछि उपभोक्ता समितिको बैठक बसेर केन्द्रीय प्रसारण लाइनमा जोड्न निर्णय गरिएको छ ।”

पटकपटक बिग्रँदै आएको उक्त नाखामखोला लघु जलविद्युत् आयोजना मर्मत गर्ने क्रममा गत भदौ १९ गते स्थानीय ३६ वर्षीय प्रकाश राईको करेन्ट लागेर मृत्यु भएको थिायो । श्रीमतीसहित चार सन्तानका बुबा प्रकाशको करेन्ट लागेर मृत्यु भएपछि क्षतिपूर्तिसमेत दिन नसकिएको उपभोक्ता समितिले जनाएको छ ।

विद्युत् गृह नजिक घर भएका राईले बेलाबेला अवरुद्ध विद्युत मर्मत गरेर सहयोग गर्दै आएकामा करेन्ट लागेर ज्यानै गुमाएको स्थानीयलाई बताएका छन् । सुरक्षाका उपाय नअपनाई अवरुद्ध विद्युत् मर्मतको काम गर्दा यसअघि पनि विभिन्न समयमा प्राविधिक कर्मचारी र स्थानीय बासिन्दालाई पटकपटक करेन्ट लाग्दै आएको छ ।

उता ऐँसेलुखर्क गाउँपालिकामा तीनवटा लघु जलविद्युत् सञ्चालनमा छन् । वडा नं. २ बाकाचोलमा सञ्चालित लिदिङखोला–२ लघु जलविद्युत् आयोजना ७० किलोवाट क्षमताको छ । दश वर्षअघि सञ्चालनमा ल्याइएको उक्त लघु जलविद्युत् आयोजनाको ऋण अहिले २७ लाख रुपैयाँ पुगेको उपभोक्ता समितिले जनाएको छ ।

वडा नं. १ राखाबाङ्देलमा २०६९ भदौबाट सञ्चालित ७० किलोवाट क्षमताको लिदिङखोला–१ लघु जलविद्युत् आयोजनामा २५ लाख रुपैयाँ ऋण रहेको वडाध्यक्षसमेत रहेका उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम राजभण्डारीले बताए । “सेवाग्राहीले महसुल बुझाउने हो भने लघु जलविद्युत् आयोजना यतिबेला फाइदामा जान्थ्यो”, उनले भने, “सबैको अपनत्व हुनेगरी उपभोक्ता समितिमार्फत सञ्चालन गरियो । अहिले उपभोक्ता समितिलाई कसैले टेर्दैनन् । उपभोक्ता समितिले धान्न नसकेपछि वडालाई यसको व्यवस्थापन हेर्ने जिम्मेवारी आएको छ ।”

गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नं. ३ ऐँसेलुखर्कका स्थानीय बासिन्दाले सञ्चालनमा ल्याएको ९० किलोवाट क्षमताको लिदिङखोला ३ लघु जलविद्युत् आयोजनाको ऋण ७० लाख रुपैयाँ रहेको जनाइएको छ । केन्द्रीय प्रसारण लाइनको विद्युतसमेत सञ्चालनमा रहेको उक्त ठाउँमा सञ्चालित लघु जलविद्युत् आयोजनाको उपभोक्ता समितिले ऋण तिर्न नसकेपछि आयोजना नै बन्द गर्ने अवस्था आएको बुझिएको छ ।

आर्थिक संकट झेल्दै आएका गाउँपालिकाभित्र सञ्चालित लघु जलविद्युतलाई एकीकृत गर्दै केन्द्रीय प्रसारण लाइनको विद्युतमा जोड्ने गरी पहल थालिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले जानकारी दिए । “हरेक वर्ष प्राकृतिक प्रकोपले क्षति गरेपछि उपभोक्ता समितिले क्षतिपूर्तिका लागि गाउँपालिकामा निवेदन ल्याउँछ”, उनले भने, “गाउँपालिकाले सहयोग गर्ने स्थिति छैन । केन्द्रीय प्रसारणलाइनमा जोडियो भने उसैले हेर्ने भएकाले प्रक्रियाको बारेमा परामर्श भइरहेको छ ।”

केपिलासगढी गाउँपालिका–१ फेदीमा मात्रै चारवटा लघु जलविद्युत् आयोजना उत्पादन गरिएको थियो । अहिले तीनवटा सञ्चालनमा रहेका छन् भने एउटा उत्पादन गरेर सञ्चालनमा ल्याएको केही महिनापछि नै पहिरोले बगाएर अलपत्र छ । ब्रिटिश गोर्खा वेल्फेयर खोटाङको एक करोड २५ लाख रुपैयाँ लगानी तथा उपभोक्ताको श्रमदानमा उत्पादन गरिएको ३६ किलोवाट क्षमताको पञ्चमी–छमुवाखोला लघु जलविद्युत् आयोजना पहिरोले बगाउँदा एक जना प्राविधिक कर्मचारीको ज्यानसमेत गएको थियो ।

फेदीमा स्थानीय बासिन्दाको चन्दा संकलन तथा दातृ निकायको सहयोगमा ४० किलोवाटको नोक्ती–तापखोला जलविद्युत् आयोजना, ३९ किलोवाटको स्वाँरा–तापखोला जलविद्युत् आयोजना र २४ किलोवाटको छमुवाखोला जलविद्युत् आयोजना हाल सञ्चालनमा छन् । करिब ६२५ घरधुरीले उपभोग गर्दै आएका यी तीनवटै लघु जलविद्युत् आयोजनामा आर्थिक संकट रहेको वडाध्यक्ष नीरकुमार राईले बताए ।

सस्तो, भरपर्दो र स्थानीयवासीलाई रोजगारीको बन्दोबस्तसमेत हुने अपेक्षासहित जिल्लामा करिब तीन दर्जन लघु जलविद्युत् आयोजना सञ्चालन गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालित लघु जलविद्युत् आयोजनामा अहिले आर्थिक संकट देखिएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन् ।

वि.सं. २०५७ मा दिक्तेलबजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको लामो समयसम्म जिल्लाका अधिकांश ठाउँमा विस्तार नभएपछि स्थानीय बासिन्दाले स्वतःस्फुर्त लघु जलविद्युत् आयोजना सञ्चालन गरेका थिए । सुरुमा लघु जलविद्युत् उत्पादनमा हौसिएका स्थानीय बासिन्दा अहिले आर्थिक संकट पर्दै गएपछि निराश बनेका छन् ।

लघु जलविद्युतमा आर्थिक संकट पर्न थालेसँगै जिल्लामा सञ्चालित सबै लघु जलविद्युत् आयोजनाहरूलाई एकीकृत गर्दै केन्द्रीय प्रसारण लाइनमा जोड्ने लक्ष्यका साथ २०७० सालमा केपिलासगढी गाउँपालिका–१ फेदीका तत्कालीन वडाध्यक्षसमेत रहेका वीरबहादुर तामाङको अध्यक्षतामा ‘लघु जलविद्युत् उपभोक्ता जिल्ला महासंघ खोटाङ’ गठन गरिएको थियो । उक्त महासंघ अहिले निष्क्रिय छ ।

कानूनी झन्झटका कारण जिल्लामा सञ्चालित लघु जलविद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने काम गर्न नसकिएको अध्यक्ष तामाङले बताए । “अहिले जिल्लामा मात्र नभई देशभर सञ्चालित लघु जलविद्युत् आयोजनाहरू आर्थिक संकटमा छन्”, उनले भने, “आर्थिक संकटकै कारण अधिकांश लघु जलविद्युतहरू बन्द हुने अवस्थामा छन् । यसप्रति सम्बन्धित निकायले चासो दिन जरुरी छ ।”

जिल्लामा उत्पादित १०० किलोवाट क्षमतासम्मको साना जलविद्युत् आयोजनाहरू केन्द्रीय प्रसारण लाइनमा जोड्न जिल्लामै सम्झौता गरेर प्रक्रिया अगाडि बढाउन सकिने नेपाल विद्युत् प्राधिकरण, दिक्तेल वितरण केन्द्र खोटाङका प्रमुख विजयराज रेग्मीले बताए ।

-केदार मगर/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर