रसुवागढी नाकाबाट आयात बढ्दै, दैनिक २१ कन्टेनरसम्म सामान भित्रिन थाल्याे

रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्वि भएको छ । कोभिड संक्रमणपश्चात् एक दिनमा १४ चिनियाँ कन्टेनरले मात्र सामग्री आयात गरिरहेको रसुवागढी नाकामा हाल २१ वटासम्म कन्टेनर आउन थालेको जनाइएको छ ।

सामग्री लिनका लागि नेपाली कन्टेनर चीनको केरुङ तथा पाङ्सिङसम्म दैनिक सयौंको संख्यामा पुग्ने गरेका थिए । कोभिड–१९ को संक्रमण भएपश्चात् मितेरी पुलबाट मानवको आवतजावत ठप्प बनाएपछि अहिले चिनियाँ पक्षले नै रसुवागढी पुर्‍याइ छाड्ने गरेका छन् ।

चिनियाँ टेलरले सामान झार्ने गरेको र चीनको उत्पादक कम्पनीदेखि रसुवागढीसम्म ढुवानीका लागि चिनियाँ मुसा टान्सपोर्टसमेतका ढुवानी कम्पनी कार्यरत रहेको बताइएको छ । चीनमा कोभिड संक्रमणपश्चात् बन्द भएको सामान आयात पुनः सञ्चालन हुँदा तीन कन्टेनरबाट सुरु भएको छ, नौ र १४ हुँदै हाल २१ चिनियाँ कन्टेनरले रसुवागढी नाकामा सामान पुर्‍याउने गरेको सीमा क्षेत्रका सुरक्षाकर्मीले बताएका छन् ।

गत भदौ ३० गतेबाट पुनः सञ्चालन भएको आयात सामग्रीमा अधिकांश तयारी पोशाक रहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । चिनियाँ एक कन्टेनर सामग्रीले नेपाली दुई कन्टेनर हुने र १० दिनको अन्तरालमा एक सय ५८ चिनियाँ ठूला कन्टेनरले रसुवागढीमा सामान पुर्‍याइसकेको सीमा सुरक्षाकर्मीले बताएका छन् ।

हालसम्म आयात भएका सामग्रीमा एक सय १९ टिपर तयारी पोशाक, ३५ टिपर नेपालमा सञ्चालित जलविद्युत्का उपकरण र चार टिपर ओखर रहेको बताइएको छ । स्याउ भने शनिबारसम्म आएको छैन । कोभिडका कारण केरूङमा रोकिएका सामग्री ढिलै भए पनि नेपाल भित्रिँदा नेपाली व्यापारीलाई केही हदसम्म सहयोग मिलेको व्यवसायी धर्म पौडेलले बताए ।

रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्री छिटोभन्दा छिटो काठमाडौं पठाउन भन्सार परीक्षण द्रुतरूपमा अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर