जो शिरदेखि पाउसम्मै चोयाले बनेका पोशाक लगाउँछन्

बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरू त हामी सबैले प्रयोग गर्दै आएका छौं । तर, शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि शहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही पोशाकबाट आम्दानीसमेत गर्ने कोही व्यक्ति देख्नुभएको छैन भने म्याग्दीको मालिका गाउँपालिका वडा नं. २ रुमको बेली गाउँमा जानुहोस् । टोपीदेखि जुत्तासम्म चोयाकै पोशाक लगाएर जीविकोपार्जन गर्दै आएका व्यक्ति छन्, रुम बेली तल्लो गाउँका ४९ वर्षीय भरीबहादुर पर्तेल । विगत दुई वर्षदेखि चोयाका पोशाक तयार पारी तिनलाई लगाएर विभिन्न मेला पर्वमा प्रदर्शन गरी उनले जीविकोपार्जन गर्दै आएका छन् ।

जङ्गलबाट निगालो ल्याई त्यसबाट चोया निकालेर उनले टोपी, कोट, इस्टकोट, पाइन्ट, जाँगे, जुत्ता, झोला,मनिब्यागलगायत पोशाकहरू बनाउने र आफूले बनाएका ती पोशाकहरू लगाएर गाउँघर तथा शहरबजारमा पुग्ने गर्छन् । आधुनिक युगमा पनि पर्तेलले चोयाका पोशाक लगाएर डुलेको देख्दा कति मानिसहरू छक्कै पर्ने गर्दछन् भने कतिले उनको कलालाई सम्मान गर्दै पैसा दिएर प्रोत्साहन पनि गर्ने गर्दछन् । सौखिन व्यक्तिहरूले पर्तेलले बनाएका चोयाका कपडा किनेर घरमा सजाउने समेत गरेका छन् । “मेरो आम्दानीको स्रोत भनेकै यही कला हो । मैले चोयाबाट शिरदेखि पाउसम्म लगाउने पोशाक बुन्न जानेको छु”, उनी भन्छन् ।

पर्तेलको घरमा चार छोरा, एक छोरी र श्रीमती छन् । छोराहरू अलग भएर बसेका छन् भने छोरीको विवाह भइसकेकाले घरमा दुई दम्पतीमात्र छन् । बिहान उठेर नजिकको जङ्गमा गई निगालो ल्याउने, चोया बनाउने र त्यसकै पोशाक तथा अन्य कृषि सामाग्रीहरू बुनेर दिन बिताउने गरेका उनी चोयाका पोशाक बेचेरै वर्षमा एक लाख रुपैयाँ बराबरको आम्दानी गर्दै आएको बताउँछन् । चोयाका पोशाक लगाएर गाउँघर र शहर बजार जाँदा मानिसहरूले त्यस्ता पोशाक लगाएको देखेर खशी हुँदै पैसासमेत दिने गरेको र अहिलेसम्म त्यसरी ६० हजार रुपैयाँभन्दा बढी कमाएको पर्तेलको भनाइ छ ।

हिजोआज गाउँघरका युवायुवतीले उनले लगाउने चोयाका पोशाक मागेर लगाइ टिकटक बनाउने र त्यसबापत एक सय रुपैयाँ दिने गरेका छन् । पर्तेल भन्छन्, “अहिले त मेरा चोयाका पोशाक भाडामा समेत जाने गरेका छन्, केटाकेटीहरूले मेरा पोशाक लगाएर मोबाइलमा फोटो खिच्छन्, टिकटक बनाउँछन् र बदलामा मलाई पैसा दिने गरेका छन् ।”

शनिबार बेलीको जनविकास आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रममा चोयाका पोशाकहरू प्रदर्शन गरेर नै उनले तीन हजार रुपैयाँभन्दा बढी आम्दानी गरे । पर्तेलको सीपको सम्मान गर्नुपर्ने र उनलाई प्रोत्साहित गरेर यस्तो कला प्रवर्द्धनमा जोड दिनुपर्ने स्थानीय समाजसेवी विष्णु पुन बताउँछन् ।

पर्तेलले पोशाकका अतिरिक्त चोयाबाट डोका, नाम्ला, भकारी, थुन्सेलगायत घरायसी कृषि सामाग्रीहरू पनि बनाउने गरेका छन् । यस्ता सामाग्रीहरू गाउँघरमा फाट्टफुट्ट बिक्री हुने गरे पनि यो पेशा व्यावसायिक हुन नसकेकाले आफूले पोशाक बनाएर प्रर्दशन तथा बिक्री वितरण गर्न थालेको उनको भनाइ छ ।

आफूले बनाएका चोयाका पोशाक जिल्लाका नेताहरू र प्रशासन प्रमुखहरूलाई उपहार दिने र त्यसको बजारीकरणमा सहयोग गर्न अपिल गर्ने आफ्नो चाहना भएको पर्तेल बताउँछन् । “चोयाका पोशाक बनाउन सजिलो छैन, निकै मिहिनेत गर्नुपर्छ,” उनी भन्छन्, “यस्ता पोशाकले हाम्रो पुरानो जीवन र पुर्खाहरूको अवस्थालाई पनि सम्झाउँछन् ।”

स्थानीय सरकार वा सम्बन्धित निकायले सहयोग गरेमा आफूले अझ राम्रा हस्तकलाका सामाग्रीहरू बनाउन सक्ने पर्तेलको भनाइ छ ।

-ध्रुवसागर शर्मा/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर