राष्ट्रपतिबाट संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम भयो : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरूले नै संविधानलाई मिच्ने गरेको बताएका छन् ।

आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै उच्चतम तहमा बस्ने व्यक्तिहरूले समेत संविधानलाई मिच्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम गरेको आरोप लगाए ।

संघीयतालाई मिच्नेहरूलाई रोक्नका लागि उन्नत प्रकारको लोकतन्त्रको विकास गर्न जरुरी रहेको बताए । उनले नेपालजस्तो विविधतायुक्त देशमा संघीयता नभई नहुने भन्दै संघीयतामा गए पनि ठीक ढंगले संविधान बनाउने र अहिले आवश्यक कानून नबनाउँदा बुटी भइरहेको बताए । अध्यक्ष भट्टराईले संघीयतालाई राम्रोसँग नबुझ्दा उचित काम हुन नसकेको स्वीकार गरे ।

अध्यक्ष भट्टराईले ज्ञान विज्ञानलाई विकसित गर्ने संस्थालाई बेवास्ता गरेर देशले प्रगति गर्न नसक्ने जिकिर गरे । उनले छिपछिपे र टिपटिपे गफ दिने नेता, आफ्नो एकांकी विज्ञता र प्रशासनिक र नीति निर्माणका ठेक्का लिने कर्मचारीतन्त्र, ३ वर्षमा ३ सय दिन ताला लगाएर तलबभत्ता खाइरहने विश्वविद्यालयका अगुवाहरू, नियुक्तिको खोजीमा दल र नेताका ढोका चार्ने बुद्धिजीवी रहेसम्म देशमा ज्ञान उत्पादनको खडेरी हुने दाबी गरे ।

अध्यक्ष भट्टराईले ज्ञान र नीति उत्पादन गर्ने संस्थाहरू नोकरसाही नियन्त्रण र हस्तक्षेपबाट मुक्त हुनु आवश्यक रहेको बताए । उनले त्रिभुवन विश्वविद्यालयलाई सेन्टर फर एक्सलेन्सको रूपमा विकास गर्ने अवधारणा, नीति अनुसन्धान प्रतिष्ठानको परिकल्पना आफूले गरेको दाबी गरे । अध्यक्ष भट्टराईले आफूले असोज १ गतेलाई विज्ञान दिवस मनाउने सुरुवात गरे पनि अहिले नागपञ्चमी भन्दै सर्प पूजा गर्न लाग्ने तर विज्ञान दिवस मनाउन छोडेको बताए ।

अध्यक्ष भट्टराईले नेपालमा राष्ट्रिय अनुसन्धान कोष छुट्टै स्थापना गर्न आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *