नाडा ईभी अटो शो : सवारी साधनको मूल्य सर्वसाधरणको पहुँच बाहिर

नाडा ईभी अटो सोमा राखिएका विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको मूल्य सर्वसाधरणको पहुँचभन्दा बाहिर रहेको अवलोकनकर्ताहरूले गुनासो गरेका छन् ।

नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि पहिलोपटक नेपालमा ईभी अटो शो आयोजना गरेकोमा अवलोकनकर्ताहरूले भने सर्वसाधरणको पहुँचभन्दा बाहिर विद्युतीय दुईपाङ्ग्रे सवारी साधनको मूल्य रहेको गुनासो गरेका हुन् ।

शो विद्युतीय सवारी साधन सर्वसाधारणको पहुँचमा पुर्‍याउने र पेट्रोलियम सवारी साधनलाई विद्युतीय सवारीमा प्रतिस्थापन गर्ने उदेश्य भएपनि सार्वसाधरणको पहुँचभन्दा माथि मूल्य भएको सर्वसाधरणले गुनासो गरेका छन् ।

शो अवलोकन गर्न आउने सर्वसाधरणहरूले प्रदूषण कम गर्न र पेट्रोलिय पदार्थको विकल्प खोज्नुपर्ने अवस्था भएपनि विद्युतीय दुईपाङ्ग्रे सवारी साधनको मूल्य सर्वसाधरणले सोचेको भन्दा बढी भएको बताएका छन् । विद्युतीय दुईपाङ्ग्रे सवारी साधनको मूल्य न्यूनतम २ लाख ५० हजारदेखि ६ लाखभन्दा माथिसम्म पर्ने भएकाले सर्वसाधारणले किन्ने पहुँच नहुँदा हेर्नुबाहेक केही नभएको सर्वसाधारणहरूको गुनासो रहेको छ ।

काठमाडौंको कपनबाट नाडा ईभी शो अलोकन गर्न आएका उत्तम गुरुङले विद्युतीय दुईपाङ्ग्रे सवारी साधनको मूल्य सामान्य नागरिकको पहुँचभन्दा बाहिर रहेको बताए । उनले १०० किलो मिटर मात्रै गुड्ने र एक जना मात्रै चढ्न मिल्ने विद्युतीय बाइकको मूल्य ६ लाखभन्दा माथि पर्ने भएको विद्युतीय बाइक आम जनमुखी नभएको बताए ।

गुरुङले विद्युतीय सवारी साधन जनतालाई विलासिता भन्दा पनि आवश्यकता भएकाले सर्वसाधरणले किन्न सक्ने मूल्य हुनुपर्ने बताए । उनले अबको युग विद्युतीय सवारी साधनको भए पनि जनताले सहज रूपमा लाभ लिने खालको अवस्था नभएको भन्दै सरकारले पनि विद्युतीय सवारी साधनलाई भन्सार शुल्क लगायत सहुलियत गरेर सर्वसाधरणको पहुँचमा पुग्नेगरी सस्तो मूल्यमा विद्युतीय बाइक गाडी उपलब्ध गराउन सक्नुपर्ने बताए । पैसा हुनेहरूको लागि महँगो बाइक वा गाडी चड्ने भएता पनि सर्वसाधरणका लागि मूल्य कम हुनुपर्ने गुरुङको भनाइ छ ।

त्यस्तै अर्का शो अवलोकन कर्ता सञ्जय श्रेष्ठले पेट्रोलियम बाइक वा स्कुटरभन्दा लागतको हिसाबले विद्युतीय सस्तो भएको पाए पनि खरिद मूल्य भने महँगो पाइएको बताए । उनले अहिले नयाँनयाँ टेक्नोलोजी आएकाले अब विद्युतीय सवारी साधनमा जानुको विकल्प नभएको बताए ।

उनले सबै सर्वसाधरण जनताको पहुँचमा पुर्‍याउनको लागि सरकारले मुख्य भूमिका खेल्नुपर्ने बताए । श्रेष्ठले सरकारले विद्युतीय दुईपाङ्ग्रे सवारी साधनको कित्ता वा पेट्रोलियम पदार्थ भर्दा जस्तै भुक्तानी गर्न मिल्ने प्रणाली लागू गरे सबैको पहुँचमा पुग्ने बताए ।

त्यस्तै शो अवलोकनकर्ता विष्णु पोखरेलले पेट्रोलियम बाइकभन्दा विद्युतीय बाइकको मूल्य महँगो नै पाइएको बताए । उनले विद्युतीय दुईपाङ्ग्रे सवारी साधन किन्दा महँगो भए पनि किनेपछि फाइदा रहेको पनि बताए । उनले बिस्तारै विद्युतीय सवारीको माग बढ्दै जाँदा मुल्य कम हुँदै जाने अपेक्षा रहेको बताए ।

यता नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष धु्रव थापाले स्वयम आफैँले पनि पेट्रोलियको तुलनामा विद्युतीय दुईपाङ्ग्रे सवारी साधनको मूल्य महँगो महसुस हुने गरेको बताए । उनले विद्युतीय दुईपाङ्ग्रे सवारी साधनको ब्याट्री महँगो भएका कारण महँगो भएको बताए ।

अध्यक्ष थापाले दुईपाङ्ग्रे सवारी साधनमा त्यस्तो भए पनि चारपाङ्ग्रे विद्युतीय सवारी साधनमा त्यस्तो नभएको बताए । उनले विदेशमा हेरी नेपालमा विद्युतीय सवारी साधनको मूल्य कम रहेको दाबी गरे ।

उनले विद्युतीय सवारी साधनको बजार प्रतिष्पर्धा हुँदै जाँदा क्रमश कम हुँदै जाने बताए । अध्यक्ष थापाले विद्युतीय सवारी साधनको मूल्य कम गर्नको लागि सरकारले किलोवाडमा नभएर भन्सार दर खरिद गरेको मूल्यको आधारमा लागू गर्नुपर्ने बताए ।

त्यस्तै सुपर सोको नेपाल कम्पनीकी बजार व्यवस्थापक स्वस्तिका भट्टराईले विद्युतीय स्कुटरमा लिथियममाइन ब्याट्री प्रयोग हुने भएकाले पेट्रोलियम स्कुटर भन्दा केही महँगो नै भएको बताए । उनले विद्युतीय स्कुटर महँगो भए पनि एक पटक मात्रै लगानी गर्दा हुने बताए ।

त्यस्तै एमएम आई मोटर्स कम्पनीका निर्देशक सन्जीव सिल्पकारले पेट्रोलियम बाइक स्कुटरको तुलनामा सस्तो र महँगो दुबै रहेको बताए । उनले विद्युतीय सवारी बाइकहरूको टेक्नोलोजी महँगो भएकाले मूल्य पनि महँगो भएको बताए ।

गत असोज ६ गते बिहीबारदेखि सुरु भएको शो आइतबार सकिएको छ । चार दिनसम्म चलेको शोमा २५ हजार भन्दा बढी अवलोकनकर्ताहरुको शो अवलोकन गरेको गरेको नाडाले बताएको छ । पछिल्लो समय पेट्रोल र डिजेलको मूल्य अत्याधिक बढी रहेको अवस्थामा पेट्रोल र डिजेलबाट चल्ने सवारी प्रतिस्थापनको लागि विद्युतीय सवारी साधन विकल्प बन्न थालेको छ । ईभी अटो शोमा विभिन्न देशमा उत्पादन भएको विद्युतीय सवारी साधन आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएका कम्पनीहरुले उत्साहपूर्वक सहभागी जनाएका थिए ।

विद्युतीय अटो शोमा विद्युतीय चारपाङ्ग्रे्र गाडी, तीनपाङ्ग्रे सवारी साधन र दुईपाङ्ग्रे्र सवारी साधनको प्रदर्शनमा राखिएको थियो । विद्युतीय स्कटुर वा मोटर साइकलको मूल्य २ लाखदेखि पाँच लाखसम्म पर्ने बाइक राखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर