मानसिक तनावमा रहेका सन्दीपले भने : नेपाल फर्किने तरखरमा छु

नावालिका बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल फर्किने तरखरमा रहेको बताएका छन् । लामिछानेले आइतबार राति फेसबुकमा पोस्ट गर्दै आफूविरुद्धको उजुरी डटेर सामना गर्न नेपाल फर्किने तयारीमा रहेको बताएका हुन् । सन्दीपले आफूविरुद्ध झुटो जाहेरी परेको र भदौ २२ गते मात्र आफूले उक्त कुरा थाहा पाएको दाबी गरेका छन् ।
लामिछाने त्यस समयमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिजमा रहेका थिए । आफ्नो चरित्रमा गम्भीर आँच आउने खालका आरोप र समाचारले मानसिक रूपमा विक्षिप्त भएको पोष्टमा उनले लेखेका छन् । उनले आफू आइसोलेसनमा बसेको दाबी गरेका छन् ।
‘यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्को तिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु’ फेसबुकमा उनले लेखेका छन् ‘झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहमा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’ तर उनले आफू कहाँ छन् भन्ने कुरा भने खुलाएका छैनन् । कानुन व्यवसायीसँग परामर्श गरिरहेको र छिट्टै नेपाल फर्किने उनले बताएका छन् ।
नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका कप्तान सन्दीप सम्पर्कविहीन बनेका हुन्। १७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। त्यसको दुई दिनपछि भदौ २३ मा नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो।
काठमाडौं जिल्ला अदालतले त्यही दिन लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो।
अदालतबाट अनुमति पाएकै दिन प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्दै फरार सूचीमा राखेको थियो। त्यस दिन क्यानसँग उनी सम्पर्कमा थिए। त्यसको एकदिनपछि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्न नेपाल फर्किने बताएका लामिछाने त्यसयता सम्पर्कविहीन छन्। उनी आफूमाथि लागेको आरोपको प्रतिरक्षाका लागि विदेशमै कानुन व्यवसायीसँग छलफलमा रहेको चर्चा चले पनि त्यसको पुष्टि भइसकेको छैन। लामिछाने अहिले कहाँ छन् भन्नेमा नेपाल प्रहरी र क्यानका अधिकारी नै अनभिज्ञ छन् ।

के लेखे सन्दीप लामिछानेले फेसबुकमा
१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शैभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफुलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथिभाई र अग्रजहरु लगायत मेरो पुरै क्रिकेट टिमको साथ, सहयोग र आर्शिवादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ। म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु। मैले आफ्नो मेहेनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्भित महसुस गर्दछु।
म विरुद्द भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। म विरुद्द परेको झुट्टा जाहेरीको विषयमा विद्युतिय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझि झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भिर आँच आउने गरी समाचारहरु आए। मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र म विरुद्द परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन।
यि सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्को तिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबिको कारणले मैले मलाई Isolation मा राखेर बसेको छु। झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहामा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।
क्रिकेट प्रति सानै देखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रुपमा होस् वा चाहे कप्तानको रुपमा। राष्ट्रको लागि दीलो ज्यानले खेलि रहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भिर षडयन्त्रको सिकार भएको महशुस भएको छ।
मेरो अनुपस्थितीमा मलाई अपराधि सावित गराउने झुट्टा झुट्टा जाहेरी प्रपञ्चहरुको मैले कानूनी लडाँइ लड्ने छु। मैले बुझे सम्म नेपालको संविधानले कसूर प्रमाणित नभए सम्म कसूरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दाको हक, गोपनियताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हक समेत रहेको बुझेको छु।
म र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने आदरणीय बुवा आमा, दाजु भाई, मित्रहरु र क्रिकेट प्रेमिहरु, मेरा समर्थकहरु प्रति आभार व्यक्त गर्दछु र म वा म विरुद्द अफवाह फैलाउने समाचारहरु सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु।🙏

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर