कांग्रेसभित्र विवाद चर्किँदा गठबन्धन सशंकित, विद्रोही पक्षको ठमेलमा भेला

नेपाली कांग्रेसभित्र सिट बाँडफाँटको विषयमा देखिएकाे असन्तुष्टिले सत्तारूढ गठबन्धनभित्रका अन्य दलहरू सशंकित बन्न पुगेका छन् । १४औं महाधिवेशनमा शेरबहादुर देउवाविरुद्ध सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइराला र महामन्त्री गगन थापा समूहले समानुपातिकतर्फको उम्मेदवारी सच्चाउन र प्रत्यक्षतर्फ पनि ४० प्रतिशत भाग माग गर्दै विद्रोह हुने चेतावनी दिएपछि गठबन्धनका अन्य दल सशंकित बन्न पुगेका हुन् ।

शनिबार मात्रै शेखर-गगन समूहका नेताहरूले अनुपम फुडल्यान्डमा भेलाको आयोजना गर्दै असोज ३ गते बुझाएको समानुपातिक सूची नसच्याए विद्रोह गर्ने चेतावनी दिएका छन् । सोमबार पनि यस्तै भेला ठमेलमा जारी रहेको छ । भेलामा बागमती प्रदेश सभापतिका प्रत्यासी  जगदीश्वरनरसिंह केसीले संयोजन गरेका छन् भने भेलामा केन्द्रीय सदस्यहरू अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतम, मधु आचार्य, प्रदेश १ सभापतिका प्रत्यासी गुरुराज घिमिरे, कर्णाली प्रदेश सभापतिका प्रत्यासी भूपेन्द्रजंग शाही, धादिङ सभापति रामनाथ अधिकारी, चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठलगायत नेताहरू सहभागी छन् ।

विद्रोही गतिविधि गर्दै आएका नेताहरूले सभापति देउवाले बेलैमा पार्टीभित्रको शक्ति समीकरणलाई ध्यान नदिए चुनावमै विद्रोह गर्नेसम्मको चेतावनी दिँदै आएका छन् । उनीहरूले सभापति देउवाले पार्टीभित्रको प्रतिस्पर्धी समूहलाई भन्दा गठबन्धनका अन्य दलहरूलाई महत्त्व दिएको आरोप लगाउँदै आएका छन् ।

उनीहरूले कांग्रेसभित्र समस्या देखिए त्यसको असर गठबन्धनका उम्मेदवारलाई समेत पर्नसक्ने भनेपछि गठबन्धन दलका नेताहरूले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई विवाद चाँडै समाधान गर्न आग्रह गरेका छन् । उनीहरूले समयमै आफ्नो माग पूरा नभए कांग्रेसको चुनाव चिह्न रुखबाहेक अन्य चुनाव चिह्नमा मतदान नगर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर