हनुमानढोकास्थित दशैंघरमा जमरा राखियो

काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा आज विधिवत रूपमा जमरा राखिएको छ । सोमबारबाट विधिवत रूपमा सुरु भएको नवरात्रको पहिलो दिन घरघरमा घटस्थापना गरी विधिवत रूपमा जमरा राखिएको हो । हनुमानढोकास्थित दशैंघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत १०ः२३ बजे जमरा राखिएको हो ।

सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दशैंको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । सोमबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैंघरमा जमरा छर्ने गरिन्छ ।

घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ । नवरात्रिभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ ।

नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजार्चना गरिन्छ । जमरा राखेपछि हनुमानढोका दरबारका पूजारी सागर खरेलले नियमपूर्वक मन्त्रोच्चारण गरी घटस्थापना र जमरा राखिएको बताए ।

विशेषतः जमरा जौ को राख्ने गरिन्छ । तर, आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर