मनास्लु हिमपहिरो : कम्तीमा १२ जना घाइते, उद्धारमा प्रतिकूल मौसम बाधक

गोरखाको मनास्लु हिमालमा सोमबार बिहान गएको हिमपहिरोमा परेर कम्तीमा १२ जना आरोही घाइते भएका छन् । घाइते भएकाहरूको उद्धारका लागि काठमाडौंबाट तीनवटा हेलिकप्टर पठाइए पनि प्रतिकूल मौसम बाधक बनेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बाक्लो हुस्सु लागेका कारण हेलिकप्टर घटनास्थलमा अवतरण गर्न नसकेको बताए । उद्धारका लागि पठाइएका हेलि एभरेष्ट, कैलास हेलिकप्टर र सिम्रिक एयरका तीन जहाजमध्ये एभरेष्टको हेलिकप्टर काठमाडौं फर्किएको उनले बताए । बाँकी दुई हेलिकप्टर गोरखाको सामागाउँमा अवतरण गरेर राखिएका छन् ।

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र ६ जना सामान्य घाइते भएको उनले बताए । मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहीन भएको पनि उनले जानकारी दिए ।

मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि गएका मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिए । गोरखाको सामागाउँमा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उनले बताए ।

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको हो । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरूका सहयोगी नेपाली आधार शिविरमा छन् । सेभेन समिट ट्रेकलगायत विभिन्न कम्पनीबाट आरोही मनास्लु गएका हुन् ।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल तथा चुलि आरोहणका लागि जम्मा ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर