रविन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्दै, काठमाडौं १ मा उम्मेदवार

वैकल्पिक राजनीति शक्तिको रुपमा अघि आउन नसक्ने दावी

वैकल्पिक राजनीति अघि बढाउने भन्दै पत्रकारिता छाडेका रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने निश्चित भएको छ । सोमबार साँझ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग छलफलपछि मिश्र वरिष्ठ उपाध्यक्ष भएर राप्रपामा प्रवेश गर्ने मिति निश्चित भएको हो ।

बुधबार राजधानीमा आयोजना गरिने कार्यक्रममा मिश्र आफू निकट रहेका विवेकशील साझाका केही नेताका साथ राप्रपामा प्रवेश गर्ने भएका छन् । मिश्र मंसिर ४ मा हुने आमनिर्वाचनमा राप्रपाको तर्फबाट काठमाडौं १ मा उम्मेदवार हुने छन् ।

लिङ्देनसँगको सहमतिपछि मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्य पनि छाडेका छन् । मिश्र विवेकशील साझाका पूर्व अध्यक्ष समेत हुन् ।

राजिनामामा उनले वैकल्पिक राजनीति शक्तिको रुपमा अघि आउन नसक्ने दावी समेत गरेका छन् । उनले नेपालको राजनीतिमा तीन दल, राजनीतिमा दुई ध्रुव मात्रै रहने दावी गरेका छन् ।

‘नेपाली राजनीतिमा, अब दुई ध्रुवमा, तीनवटा प्रमुख पार्टी रहने छन्। ‘बायाँ ध्रुव’ मा नेपाली कांग्रेस र नेकपा एमाले रहने छन्, जसको प्रणालीगत दृष्टिकोणमा समानता रहे पनि कार्यनीतिहरूमा केही अन्तर हुनेछ’ राजिनामा उनले लखेका छन् ‘‍यी दुईकोबीचमा केही वर्ष माओवादी पेण्डुलम झैँ कहिले यता, कहिले उता गरिरहने छ।

तर समयक्रममा त्यो कि ‍साँगुरिँदै जानेछ कि राजनीतिबाटै हराउने छ।’ मिश्रका अनुसार नेपाली कांग्रेस र एमालेको विपरित ‘दायाँ ध्रुव’मा ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ शक्ति रहने छ, जो राजनीतिक-सामाजिक रूपमा नरम संवर्द्धनवादी र अर्थ-राजनीतिक रूपमा उदार तर कल्याणकारी हुनेछ ।

मिश्रले लेखेको राजिनामा भनिएको छ ‘त्यसले तुलनात्मकरूपमा उदार अर्थतन्त्रभित्र नि:शुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता विषयलाई जोडदार रूपमा उठाउने छ र अंगिकार गर्नेछ।

यो देशको दूरगामी हित र रूपान्तरणका लागि सोही नरम संवर्द्धनवादी शक्ति निर्माण गर्न मैले आफू पनि संलग्न भएर बनाएको घरभन्दा माथि देशलाई राखेको हुँ।’

२०६२-०६३ पछिको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतासहितको विषयमा मिश्र विपरित धारणा राख्छन् । वैकल्पिक राजनीति गर्दा मिश्रले एमाले, कांग्रेस, माओवादी केन्द्र तथा राप्रपासहितको मूलधारको राजनीतिक दलहरुलाई म:म: चाउमिनको संज्ञा दिने गरेका थिए । त्यसको विकल्पमा अन्य शक्तिहरु पनि रहेको त्यसलाई रोज्नु पर्ने बताउने गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *