आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचना सुधारको माग गर्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

हेल्थ असिस्टेन्ट संघ, नेपालले स्थानीय तहको आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ, नेपालले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो ।

२०७९ असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयले आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको संघको भनाइ छ । लोकसेवा आयोगमार्फत सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरूमाथि मानमर्दन तथा अत्याचार भएको भन्दै सो निर्णय सच्याउन माग गरिएको छ ।

मन्त्री खापुङलाई ज्ञापनपत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारीले स्वास्थ्य केन्द्रको संगठन संरचना अवैज्ञानिक र असमान तवरले बनाइएको बताए । उनले यसरी संगठन संरचना बनाएर स्वास्थ्य नीति–२०७६ को समेत खिल्ली उडाइएको बताए । उनले सो संगठन संरचनात्मक दरबन्दी २४ घण्टाभित्र फिर्ता गरी सर्वपक्षीय छलफलबाट विद्यमान नीति, नियम र कानूनसम्मत हुनेगरी स्वास्थ्य प्रणाली सुधार गर्न माग गरे ।

ज्ञापन पत्र बुझ्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री खापुङले संघको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले यस विषयमा छलफल गर्ने र त्रुसिट भएको ठाउँमा सच्याउने आश्वासन पनि दिए ।

हेल्थ असिस्टेन्ट संघ नेपालले आफूहरूको माग सम्बोधन नभएमा चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर