कम्बोडिया पठाएर ठगीधन्दामा लगाएको आरोपमा म्यानपावर सञ्चालकसहित तीन जना पक्राउ

प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आकर्षक रोजगारीको प्रलोभन देखाई भिजिट भिसामा कम्बोडिया पठाएर ठगीधन्दामा संलग्न हुन बाध्य पारेको आरोपमा म्यानपावर सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको रूपिनी गाउँपालिका–१ स्थायी घर भई काठमाडौं महानगरपालिका–९ सिनामंगलमा आयुष ओभरसिज प्रालि नामक म्यानपावर सञ्चालन गर्दै आएका ३५ वर्षीय उदितनारायण साह, उक्त म्यानपावरमा पब्लिक रिलेसन अफिसरको काम गर्ने महोत्तरीको मनरा सिसवा नगरपालिका–९ घर भई काठमाडौंको बत्तीसपुतली बस्ने २९ वर्षका दिवाकर झा र सोही म्यानपावरमा रिसेप्सनिष्टको काम गर्ने धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ घर भई ललितपुरको बालकुमारी खरिबोट बस्ने २२ वर्षीया राखीकुमारी सिंह रहेका छन्।

उनीहरूले संयुक्त मिलेमतोमा एक जना पुरूषलाई कम्बोडियामा कम्प्युटर अपरेटरसम्बन्धी मासिक नौ सयदेखि एक हजार अमेरिकी डलर कमाइ हुने काममा लगाइदिने प्रलोभन देखाएर पटकपटक गरी ३ लाख ८२ हजार लिएको र २०७८ चैत २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पठाई दुबईबाट सिंगापुर हुँदै कम्बोडियासम्म पुर्‍याएको ब्यूरोले जनाएको छ।

उनीहरू भदौ ३१ गते नै पक्राउ परेको भए पनि प्रक्रिया पुर्‍याउन बाँकी रहेकाले ब्यूरोले मंगलबार मात्र यसबारे विज्ञप्तिमार्फत जानकारी गराएको हो।

ब्यूरोका प्रवक्ता एसपी दानबहादुर मल्लका अनुुसार म्यानपावर सञ्चालक साहले भिजिट भिसा र टिकटको कागजातसमेत तयार गरी तीन व्यक्तिलाई कम्बोडिया पठाएका थिए। कम्बोडियामा उनलाई नोम पेन्ह शहरको साइनो विल्ला भन्ने ठाउँमा रहेको रोज एण्ड चाइनिज कम्पनीमा काम लगाइएको थियो। कम्पनीमा चाइनिज नागरिकहरूले आफूलाई सामाजिक सञ्जाल तथा विभिन्न एप्लिकेशनमार्फत केटी बनेर यौनोत्तेजक र भावुक कुराहरू सुनाई अमेरिका, क्यानडा, युरोपलगायतका देशका पुरुषहरूलाई ठगी गर्नमा बाध्य पारेको उनले जाहेरी दिएका थिए।

यसरी ठगी गर्दा सामाजिक सञ्जालमा ती देशका नागरिकलाई साथी बनाउने र विभिन्न कम्पनीको सफ्टवेयर लिंकमा पैसा पठाउन लगाउने गरिएको थियो। पैसा पाएपछि सामाजिक सञ्जलबाट ब्लक गर्नेलगायतका गैरकानूनी काममा उनलाई संलग्न हुन बाध्य पारेको जनाइएको छ।
ब्यूराेक अनुसार ती व्यक्तिलाई त्यहाँ चार महिनासम्म जबरजस्ती काममा लगाइएको थियो। जाहेरी परेपछि उनलाई थाइल्याण्ड र कम्बोडियास्थित नेपाली राजदूतावासको सहयोगमा २०७९ भदौ २२ गते उद्धार गरेर नेपाल ल्याइएको छ।

पक्राउ परेकाहरूमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। उनीहरूले गरेको कसुर पुष्टि भए मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही हुने ब्यूरोका प्रवक्ता मल्लले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर