समानुपातिकतर्फको बन्दसूची सर्वसहमतिमै तयार गरिएको हो : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची सहमतिमा तयार पारेको दाबी गरेका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. महतले यस्तो दाबी गरेका हुन् ।

उनले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पठाउने निर्णय आम सहमतिबाट भएको र यसमा सहमतिबाट पदाधिकारी, पूर्वपदाधिकारी, संसदीय बोर्डका सदस्यहरू संलग्न रहेको बताए । उनले समानुपातिकतर्फको बन्दसूचीमा कुनै एक पक्षको पक्षपोषण र अर्को पक्षको कमजोर पार्ने काम नभएको दाबी गर्दै एकलौटी गरियो, छलफल नै भएन भन्ने कुरामा कुनै पनि सत्यता नरहेको जिकिर गरे ।

प्रवक्ता महतले केही सदस्यहरूले पार्टीले एउटा पक्षलाई पोस्ने काम गरेको छ भन्दै हिँड्नु वाञ्छनीय नभएको र यसबारेमा पार्टीले नजिकबाट क्रियाकलापरू नियालिरहेको बताए । उनले संस्थापन इतर (डा.शेखर कोइराला) पक्षप्रति इंगित गर्दै समानुपातिक पद्धतितर्फ एकलौटी गरेको भए नेताहरूले आफैँ बोल्नुपर्ने तर अहिलेसम्म नबोलेकोबाट पनि सहजै सबै संलग्न भएर सर्वसम्मत रूपमा समानुपातिक पद्धतितर्फको बन्दसूची बुझाएको दाबी गरे । उनले केही नेताहरूले कार्यकर्ताहरूलाई अन्योलमा राख्ने काम गरिरहेको आरोप लगाए ।

प्रवक्ता महतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाए । उनले दुई पटकसम्म संसद्ले पारित गरेर राष्ट्रपतिसम्म पुर्‍याउँदा पनि त्यसलाई हस्ताक्षर गरेर नफर्काउनु दुर्भाग्यपूर्ण रहेको जिकिर गरे । प्रवक्ता महतले नागरिकता विधेयक प्रमाणीकरण नगरेर निर्वाचनको मुखमा यसलाई राजनीतिक रङ दिने कोसिस भएको आरोप लगाए । उनले यो विषय निर्वाचनको बेलामा बहसको विषय बन्ने बताए ।

प्रवक्ता महतले सरकारमा भएकै कारणले निर्वाचन प्रक्रियामा निर्वाध रूपमा सहभागी हुने र प्रचार अभियानमा सक्रिय हुने कुरालाई कम गर्न नमिल्ने बताए । उनले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताप्रति असन्तुष्टि व्यक्त गर्दै नेपाली कांग्रेस निर्वाचन आयोगको उक्त आचारसंहिताप्रति गम्भीर रहेको बताए ।

प्रवक्ता महतले आगामी निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए । उनले नेपाली कांग्रेसका उम्मेदवारहरूले गठबन्धनलाई सफल बनाउन लागि पर्ने हो भने आगामी निर्वाचनपछि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए । उनले आगामी निर्वाचनपछि बन्ने नेपाली कांग्रेसको सरकारले नै देशमा सुशासन ल्याउने, लोकतान्त्रिक संस्थालाई मजबुतीकरण, गर्ने, समृद्धि, विकास, युवा रोजगारीको पहुँचमा आम जनतालाई पुर्‍याउने दाबी गरे ।

प्रवक्ता महतले पाँचदलीय गठबन्धनलाई अन्तिम रूप दिने काम भइरहेको र दुई दिनभित्र नै सिट बाँडफाँटको टुंगो लाग्ने दाबी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *