असोज २४ गतेदेखि ग्रीन हाइड्रोजन सम्मेलन हुने

यही असोज २४ गतेदेखि ग्रीन हाइड्रोजन सम्मेलन हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।

एमआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउण्डेसन, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त आयोजनामा असोज २४ गतेदेखि दुई दिन नेपाल ग्रीन हाइड्रोजन समिटको पहिलो संस्करण हुने भएको हो ।

नेपाल हरित हाइड्रोजन सम्मेलन ‘पग्लिदै गरेको हिमालका लागि एन्टिडोज’ भन्ने नाराका साथ आयोजना गरिएको आयोजकले बताएको छ । सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने रहेको आयोजक नेपाल ग्रीन हाइड्रोजनले जनाएको छ ।

एमआईटी ग्रुप फाउण्डेसनका अध्यक्ष एवं गैरआवासीय नेपाली सघं (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले नेपालमा ग्रीन हाइड्रोजनको उत्पादनका लागि पूर्वाधार र स्रोत उल्लेख्य भए पनि व्यावसायिक रूपमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने अध्ययन गर्न आवश्यक रहेको बताए । उनले अब बिस्तारै ग्रीन हाइड्रोजनमा जानैपर्ने भएका कारण परिणाम कसरी ल्याउन सकिन्छ भन्नेबारेमा सोच्न आवश्यक भएको बताए ।

उनले परिणामका लागि चाहना मात्रै भएर नपुग्ने भन्दै सरकारको नीतिलगायतका कुरा आवश्यक रहेको बताए । उनले हाल नेपालमा हाइड्रोजनसम्बन्धी कानूनी व्यवस्था नै नहरको जिकिर गरे ।

सम्मेलनमा नेपालमा हरित हाइड्रोजन उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस र विश्लेषण हुनेछ । योसँगै नेपालमा पर्यावरणीय रूपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी ऊर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ ।

दुई दिने सम्मेलनमा नेपालका उद्योग क्षेत्रका व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी निकायका प्रतिनिधि, नेपाल विकास साझेदार, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दूतावास, अन्तर्राष्ट्रिय विज्ञ, हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख प्रतिनिधिको सहभागिता रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर